Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

वैदेशिक रोजगारीमा ठगिएका पीडितले गरेको पत्रकार सम्मेलनमा पीडक पुगेर गरे पत्रकारमाथि हातपात

वैदेशिक रोजगारीमा ठगिएका पीडितले गरेको पत्रकार सम्मेलनमा पीडक पुगेर गरे पत्रकारमाथि हातपात

चितवन : वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेको छ ।

समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि पत्रकार सम्मेलनकै क्रममा हल भित्र प्रवेश गरेर पीडक पक्षका व्यक्तिहरूले हातपात गरेका हुन् । बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा समेत सुनुवाई नभएको भन्दै पीडितहरू भरतपुर-४ निवासी अञ्जु कँडेल र शान्ति कँडेलले पत्रकार सम्मेलन गरेका थिए ।

आफ्ना कुरा राख्दै गर्दा पीडक भनिएका भरतपुर महानगरपालिका-४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर-४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका-८ का ३३ बस्ने सविन थापालगायतको समूह पुगेर पत्रकार सम्मेलन बिथोलेका थिए ।

घटनाले उग्र रूप लिएपछि चितवनका प्रहरी प्रमुख गोविन्द पुरी घटनास्थलमै पुगेका थिए । घटनालगत्तै नेपाल पत्रकार महासंघ चितवनले पीडित पत्रकारहरूको तर्फबाट प्रहरी प्रमुखलाई दोषीलाई कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष बसन्त पराजुलीले दोषीलाई कारवाही नभए कडा कदम चाल्ने चेतावनी दिनुभयाे । जवाफमा प्रहरी प्रमुख पुरीले घटनामा संलग्नहरूलाई पक्राउ गरी सकेको भन्दै अन्य संलग्नहरूको खोजी भइरहेको बताउनुभयाे । उहाँले दोषीलाई कानुनी कारवाही गरिने प्रतिबद्धता समेत जनाउनुभयाे । प्रहरी प्रमुख पुरीले पीडक पक्षलाई लिएर पत्रकार सम्मेलनमा नपुगेको स्पष्टीकरण समेत दिनुभयाे ।

घटना पछि पत्रकार महासंघलगायत सम्बद्ध पत्रकार संघसंगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पीडक प्रहरीसँगै प्रवेश गरी गुण्डागर्दी शैलीमा पत्रकारहरूमाथि आक्रमण गरेको घटनाप्रति घोर भत्सर्ना अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरूसहित आक्रमणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ । पीडकहरूले पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरी मुकदर्शक भई बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij