Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुनचाँदी व्यवसायी सम्बन्धी तीन महासंघद्वारा चरणबद्ध विरोधको कार्यक्रम घोषणा

सुनचाँदी व्यवसायी सम्बन्धी तीन महासंघद्वारा चरणबद्ध विरोधको कार्यक्रम घोषणा

चितवन : सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसंगै सुनचाँदी व्यवसायी सम्बन्धी तीन महासंघहरू नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरूपमा विरोधका कार्यक्रमहरू घोषणा गरेको छ ।

सोमबार तीन महासंघहरूले संयुक्त वक्तव्य मार्फत संयुक्त विरोधका कार्यक्रमहरू सार्वजनिक गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले जानकारी दिनुभयो।

उहाँले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न सरकारसँग आग्रह गर्ने महासंघहरूको संयुक्त कार्यदल बैठकमा निर्णय भएको बताउनुभयो।

त्यस्तै छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव निर बहादुर वि.क बिमलले बताउनुभयो।

जेठ २७ गते मंगलबार महासंघहरुले दिएको फर्म्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र A4 साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्ला/नगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । त्यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij