काठमाडौं : हैदराबादमा एक नेपाली युवकले आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।भारतको इन्डिया टुडेको रिपोर्ट अनुसार ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा (उर्फ विल्सन)ले आफूसँगै बस्दै आएकी प्रेमिका तारा बोहराको घाँटी थिची हत्या गरेका हुन् ।प्रहरीका अनुसार तारा बोहरा ३३ वर्षीया विवाहित महिला हुन् र उनका दुई सन्तान पनि छन् । केही समयअघि फेसबुकमार्फत विजयसँग चिनजान भएपछि उनीहरूको सम्बन्ध गहिरिएको थियो ।
त्यसपछि तारा गत अप्रिल १५ मा हैदराबाद आएकी थिइन् र विजयसँगै भाडाको घरमा लिभिङ टुगेदर बस्न थालेकी थिइन् ।तर, मे २३ मा तारा गर्भवती भएको खबरपछि उनीहरूबीच विवाद भएको थियो । सोही वेला विजयले नाइलन झोलाको डोरी प्रयोग गरी ताराको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।हत्या पछिपछि उनले शवलाई लगेज ब्यागमा हालेर बाचुपल्लीस्थित सुनसान आवासीय क्षेत्रमा फालिदिएका थिए ।
जुन ४ तारिखमा एक स्थानीय चौकीदारले शंकास्पद लगेज देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बाचुपल्ली क्षेत्रको सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
पाँचवटा विशेष टोली परिचालन गरेर आरोपी विजयलाई अन्ततः मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका विजय हैदराबादस्थित एक रेष्टुरेन्टमा सेफका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार, प्रारम्भिक बयानमा उनले आफ्नो दोष स्वीकार गरेका छन् ।घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij