Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

उत्पादनमा आधारित अनुदानले किसान उत्साहित

उत्पादनमा आधारित अनुदानले किसान उत्साहित

प्यूठान : मल्लरानी गाउँपालिका–५ सरङकोटका मुकुन्दबहादुर मल्लले व्यवसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । मासिक झन्डै १ हजार केजी च्याउ उत्पादन गर्ने उनले कर्मचारीमार्फत बिक्रीका लागि बजार पठाउँछन् ।

बजारमा बिक्री हुँदा ग्राहकले दिने मूल्य पाउने उनले मल्लरानी गाउँपालिकामार्फत सञ्चालन गरिएको संकलन केन्द्रमा लैजाँदा प्रतिकेजी ५० रुपैयाँ अनुदान पाउँछन् । मल्लरानी गाउँपालिकाले किसानहरूलाई उत्पादनमा आधारित रहेर अनुदान उपलब्ध गराउने गरेको छ । पछिल्लो त्रैमासिकमा पालिकाको संकलन केन्द्रमार्फत ७ सय २ केजी ५ सय ग्राम च्याउ बिक्री गरेका मल्लले ३५ हजार १२५ रुपैयाँ अनुदान प्राप्त गरे ।कृषि र पशुउपज सामग्रीहरूको बजारीकरणका लागि सहयोग गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने गरेको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

‘व्यापार व्यवसाय र जागिर सबैलाई नपुग्न सक्छ,’ उनले भने, ‘हाम्रो समुदाय र परिस्थितिअनुसार कृषिलाई नै व्यवसायीकरण गरी स्वरोजगारमूलक बनाउन यस्तो नीति अघि सारेका हौं ।’ उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकहरूलाई उत्पादनमा प्रतिस्पर्धा गराउनुका साथै पालिका आत्मनिर्भरको दिसामा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । गत वर्ष ५ जना कृषकबाट सुरु भएको यस्तो अनुदान कार्यक्रममा पछिल्लो त्रैमासिकमा २३ जना कृषक सहभागी भएका छन् । फलफूल, सिमिको बीऊ, तरकारी, बेसार, अण्ड क्यारेट, ध्यू, च्याउ उत्पादन गर्ने किसानहरूले यो त्रैमासिकमा अनुदान बापतको रकम प्राप्त गरेका छन् । न्यूनतम उत्पादनको परिणाम निर्धारण गरेर सो लक्ष्य पूरा गर्ने किसानहरूलाई प्रतिकेजीका आधारमा पालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । कृषि र पशुजन्य उत्पादनहरूमा उत्पादन परिणामका आधारमा अनुदान दिने गरेको हो ।

पालिकाले तरकारीमा प्रतिकेजी १० रुपैयाँ, पलफूलमा प्रतिकेजी १५ रुपैयाँ, मसलाजन्य उत्पादनमा प्रतिकेजी १५ रुपैयाँ, अण्डमा प्रतिक्यारेट १५ रुपैयाँ, घ्यूमा प्रतिकेजी ५० रुपैयाँ, च्याउमा प्रतिकेजी ५० रुपैयाँ अनुदान उपलब्ध गराउँछ । अनुदान दिन कार्यविधि नै बनाएको पालिकाले उत्पादनका वस्तुहरूको नाम छुट भएमा जतिबेला पनि समावेश गर्न सकिने जनाएको छ ।

. मल्लरानीद्वारा कृषि र पशुउपज सामग्रीको बजारीकरणका लागि सहयोग गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै . वितरणमुखीभन्दा उत्पादनमा आधारित अनुदानले कृषकलाई उत्पादनमा हौसला दिँदै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा मल्लरानी गाउँपालिकाले करिब साढे ३ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । सुरुको त्रैमासिकमा ५२ हजार ९ सय, दोस्रो त्रैमासिकमा ८९ हजार र तेस्रो त्रैमासिकमा १ लाख ९७ हजार ६८७ रुपैयाँ वितरण गरेको कृषि शाखा प्रमुख मोती आचार्यले बताए । पहिलेको जस्तो वितरणमुखीभन्दा उत्पादनमा आधारित अनुदानले कृषकहरूलाई उत्पादनमा हौसला प्रदान गरेको मल्लरानी गाउँपालिका–२ खरिन्डाँडाका सत्यमोहन रानाले बताए । ‘धेरै उत्पादन गर्नुपर्छ भन्ने प्रेरणा किसानहरूमा जागेको छ ।’ उनले भने, ‘किसानहरूमा कसले बढी उत्पादन गर्ने भन्ने प्रतिस्पर्धा चल्न थालेको छ ।’

प्यूठान नगरपालिकाले दूधमा दिन्छ अनुदान प्यूठान नगरपालिकाले किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । तोकिएको संकलन केन्द्रमा दूध बिक्री गर्ने किसानहरूलाई प्रतिलिटर १० रुपैयाँ उत्पादनमा आधारित रहेर अनुदान वितरण गर्ने गरिएको नगरपालिकाका पशुसेवा शाखा प्रमुख अधिकृत गिरिराज पौडेलले बताए ।

चालु आर्थिक वर्षको हालसम्ममा ७१ हजार २० लिटर दूध संकलन गरी बिक्री गरेका किसानहरूले ७ लाख १० हजार २ सय रुपैयाँ अनुदान प्राप्त गरेको उनले बताए । यसपटक ८२ जनाले अनुदान वापतको रकम प्राप्त गरेको र सो रकम सीधा कृषकको बैंक खातामा प्रदान गर्ने गरिएको प्रमुख पौडेलले बताए । बजारोन्मुख नगर क्षेत्र भएकाले संकलन गरिएको दूध बजार क्षेत्रमा पठाउने गरिएको शिवालय दूध संकलन सहकारी खैराका अध्यक्ष भोजबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट