काठमाडौंँ : अभिनेत्री गरिमा शर्मा केही दिनयता ‘जन्ते बाख्रो’ फिल्म प्रचारका क्रममा व्यस्त छिन् । उनी अभिनित यो तेस्रो फिल्म हो ।‘लण्डन टु पेरिस’बाट फिल्म अभिनयमा डेब्यु गरेकी उनको दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ गत वर्ष प्रदर्शनमा आएको थियो । ‘लण्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’मा सहायक भूमिका निर्वाह गरेकी उनी ‘जन्ते बाख्रो’मा भने मुख्य भूमिकामा देखिँदैछिन् ।
‘यो फिल्मले मेरो करियरमा ठुलो अर्थ राख्छ’, उनले भनिन्, ‘फिल्मको कथा पनि मेरै वरिपरि घुमेको छ ।’ फिल्ममा राम्रो चरित्र भएकाले पनि धेरैभन्दा धेरै दर्शकमाझ पुर्याउन आफूले मेहनत गरिरहेको उनी सुनाउँछिन् ।
फिल्ममा शर्मा सम्झना नामको पात्रमा देखिन्छिन् । सम्झना फिल्मको ‘सेन्टर क्यारेक्टर’ रहेको उनको भनाइ छ । ‘जन्ते बाख्रो’ रोमान्टिक कमेडी जनरामा बनेको उनले बताइन् । फिल्ममा अलिअलि विवाह संस्कृतिको कथा पनि रहेको उनले खुलाइन् ।
फिल्ममा शर्माको ‘अपोजिट’ मा कमले नाम गरेको पात्रको भूमिका अभिनेता सौगात मल्लले निर्वाह गरेका छन् । सिमोस सुनुवार निर्देशित फिल्ममा गरिमा र सौगातको अलावा आसिफ शाह पनि मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलरमा गरिमासँग विवाहको दौडधुपमा सौगात र आसिफ रहेको देखाइएको छ । जसलाई दर्शकले कथा खुल्यो भनेर कमेन्ट गरेका छन् । ट्रेलरमा देखिएको कथा केही झलकमात्र भएको र फिल्ममा मेजर ट्विष्ट र सस्पेन्स थुपै्र रहेको नायिका शर्मा बताउँछिन् ।
यो फिल्म अभिनय गर्नुको कारण विषयवस्तुमात्र पनि नरहेको नायिका शर्माको भनाइ छ । ‘अभिनयमा पारंगत मानिने सौगातसँग काम गर्दा धेरै सिक्न पाइने लोभ पनि हो,’ उनले भनिन्, ‘राम्रो एक्टरसँग काम गर्ने मौका जुर्दा कसले पो छोड्छ र ?’

नायिका शर्माका यसअघिका फिल्म ‘लण्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’ व्यावसायिक रूपमा सफल मानिन्न । त्यसैले उनलाई अहिले हिट फिल्मको खाँचो छ । किनभने कलाकारको सफलता फिल्मको व्यवसायसँग तुलना गरिन्छ । फिल्म रिलिज मिति नजिकिँदै गर्दा व्यवसायको चिन्ताले उनी नर्भसजस्तै पनि छिन् ।
‘लण्डन टु पेरिस’ भन्दा ‘ह्रस्व दीर्घ’ केही राम्रो भएको र त्योभन्दा पनि राम्रो ‘जन्ते बाख्रो’ हुने शर्माको दाबी छ । ‘फिल्ममा काम राम्रो गरेको छु । मेरोमात्र होइन, सबैको काम राम्रो छ,’ उनले भनिन् । फिल्मको व्यवसायभन्दा पनि आफ्नो अभिनयबारे कस्तो प्रतिक्रिया आउला भन्ने बढी चिन्ता रहेको उनले सुनाइन् ।
फिल्म क्षेत्रमा नयाँ भएकाले पनि आफूले अभिनय गरेका फिल्म व्यावसायिक रूपमा सफल हुनुपर्ने दबाबमा छिन् शर्मा । ‘अहिलेसम्म काम गरेकोमध्ये बढी नै आशा लागेको फिल्मचाहिँ यो हो’, उनले भनिन् ।गरिमा टिकटकबाट उदाइन् । त्यसपछि म्युजिक भिडियोमा छाइन् । अनिमात्र उनको पाइला फिल्ममा परेको हो । अहिलेसम्मको सबै यात्रा फलदायी र इन्जोयपूर्ण रहेको उनको भनाइ छ ।
‘म एकदमै सानो मञ्चबाट बिस्तारै–बिस्तारै अघि बढ्दै यहाँसम्म आएकी छु । यसले ममा धेरै परिपक्वता ल्याएको छ’, उनले भनिन्, ‘अनुभवले सफलतामा एकदमै खुसी भएर फुरुङ्ग हुने, अनि असफलतामा खिन्न हुनेजस्ता अपरिपक्व व्यवहारमा परिवर्तन गर्दाे रहेछ ।’
अहिलेसम्म अभिनय गरेका फिल्म असफल भएपछि लगातार फिल्म हात पार्नु आफ्ना लागि ठुलो उपलब्धि मान्छिन् नायिका शर्मा । अहिलेसम्मको यात्रा सहजै भए पनि अबको यात्रा उनले चुनौतीपूर्ण देखेकी छन् ।‘हामी सर्टेन टाइमसम्म पढ्छौँ । त्यसपछि जागिर खाने हो भनेजस्तो अवस्था फिल्ममा छैन’, उनले भनिन्, ‘हरेक नयाँ फिल्ममा चुनौती बढ्दै जान्छ ।’
आगामी दिनमा अभिनयका लागि आवश्यक कुरा थप सिकेर अगाडि बढ्ने सोच उनको छ । कलाकारितामा भविष्य सुरक्षित नदेखेर कति कलाकार विदेश पलायन भइसके । उनले भने कलाकारितामै रहने सोच बनाएकी छन् ।
‘संघर्ष हरेक फिल्डमा गर्नुपर्छ । फिल्म क्षेत्रमा संघर्ष गर्दा नाम र दाम दुवै छ’, उनले भनिन्, ‘संघर्ष गर्नेले सफलता प्राप्त गर्छ नै ।’तीन फिल्म अभिनय गरेकी उनले सबै फिल्ममा गाउँले सोझी युवतीको भूमिका पाएकी छन् । अब भने ‘बोल्ड’ क्यारेक्टरसहित सहरिया युवतीको भूमिकामा आउने उनको इच्छा छ ।
‘नेगेटिभ नै किन नहोस्, राम्रो क्यारेक्टर भए गर्छु’, शर्माले भनिन्, ‘अभिनयमा सधैँ राम्रोमात्रै भएर देखिनुपर्छ भन्ने छैन ।’ फरक–फरक क्यारेक्टरमा भिजेर आफूलाई भर्सटाइल अभिनेत्रीको रुपमा चिनाउने सपना रहेको उनले बताइन् ।

‘जन्ते बाख्रो’ फिल्मभित्र उनीसँग विवाहका लागि अभिनेता सौगात र आसिफ शाहबिच प्रतिस्पर्धा हुन्छ । जुन फिल्मको ट्रेलरले बोलेको बिषय हो ।‘रियल जीवनमा विवाहका लागि संघर्ष गर्ने पनि छन् कि ?’ प्रश्न राख्न नपाउँदै नायिका शर्माले जवाफ फर्काइन्, ‘अहिलेसम्म विवाहका लागि मलाई कतैबाट प्रेसर छैन ।’
विवाह कुरो नभए पनि प्रेम प्रस्ताव राख्ने भने धेरै रहेको शर्माले बताइन् । स्कुल, कलेजदेखि आउन थालेको यस्ता प्रस्ताव अहिले पनि जारी रहेको उनी सुनाउँछिन् ।सानैदेखि हिरोइन बन्ने सपना देखेकी उनी स्कुल–कलेजमा नाच्ने, नाटक लेख्ने र अभिनय गर्ने समेत गर्थिन् । कसैले उनलाई भविष्यमा के बन्ने भनेर सोध्दा उनी एक्ट्रेस बन्ने सपना सुनाउँथिन् ।
‘सानैवेलादेखि दिमागमा बसेको कुरा हो यो । म जहाँसम्म आइपुगेँ, त्यसको लागि ग्रेटफुल छु र अझै अगाडि बढ्न मन छ,’ उनले भनिन्, ‘त्यसका लागि संघर्ष गर्छु, पछि हट्दिनँ ।’
https://youtu.be/v7BQmB5q-sY© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij