Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कम उमेरमै आमा बन्ने क्रम रोकिएन

कम उमेरमै आमा बन्ने क्रम रोकिएन

मकवानपुर : मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालविवाह विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएतापनि कम उमेरमा आमा बन्ने क्रम रोकिएको छैन ।जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार गरेको स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा प्रस्तूत तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनामा चार सय ५८ जना किशोरी आमा बनेका छन् ।

कार्यालयले दिएको तथ्यांक अनुसार जिल्लाभर चार हजार एक सय २७ जना सुत्केरी भएकोमा ११ दशमलव शून्य ६ प्रतिशत २० वर्षमुनिका रहेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार गत आर्थिक वर्षमा १० दशमलव ९३ प्रतिशत किशोरी आमा बनेको तथ्यांक छ ।

तथ्यांक अनुसार गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षको दश महिनाको अवधिमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्यामा वृद्धि भएको देखिएको छ । गत आवमा कुल चार हजार ४ सय ३० सुत्केरी भएका थिए ।

मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी रक्सिराङमा कम उमेरमा आमा बन्नेको संख्या रहेको कार्यालय प्रमु्ख मिजारले बताउनुभयो । यहाँ कुल सुत्केरी भएका मध्य २४ दशमलव ११ प्रतिशत २० वर्ष मुनिका रहेका छन् ।

बागमतीमा २३ दशमलव ०४ प्रतिशत, बकैयामा १७ दशमलव ११ प्रतिशत, भीमफेदीमा १७ दशमलव शून्य ७ प्रतिशत किशोरीहरु आमा बनेका छन् । त्यस्तै, कैलाशमा १५ दशमलव ५६ प्रतिशत थाहा नगरपालिकामा ११ दशमलव ५९ प्रतिशत बीस वर्ष नपुग्दै आमा बनेका छन् ।

मकवानपुरको बालमैत्री घोषण भएका स्थानीय तहमा पनि कम उमेरमा आमा बनेका छन् । मनहरी गाउँपालिकामा १६ दशमलव शून्य ५ प्रतिशत, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत र हेटौंडा उपमहानगरपालिकाका ८ प्रतिशत २० वर्षमुनिमा आमा बनेका तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट