Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य दुई महिनाभित्र सुरु हुने

दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य दुई महिनाभित्र सुरु हुने

काठमाडौँ : दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माण आयोजनाकाे काम तीव्र गतिमा अघि बढेको छ । परियोजना स्थलमा रहेका रुख तथा पोलहरू हटाउने कार्य तीव्र गतिमा भइरहेको र अब पन्ध्र दिनभित्र काम पूरा हुने आयोजनाले जनाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र अबको एकदेखि दुई महिनाभित्र सुक्खा बन्दरगाह निर्माणकाे कार्य सुरु गर्ने लक्ष्यका साथ तयारी अघि बढाइएको बताए ।

‘रुख व्यवस्थापनको कार्य अबको १५ दिनभित्र सकिनेछ,’गजुरेलले भने, ‘१ देखि २ महिना भित्र निर्माणको काम सुरु गर्नेगरी कार्य अघि बढाइएको छ । विगत १५ वर्षदेखि विभिन्न कारणले अलपत्र परेको परियोजना हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रियता एवं समन्वयात्मक भूमिकाले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति लगायत रुख कटानको निर्णय स्वीकृत भएको गजुरेलको भनाइ छ ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ४२.३६ हेक्टर राष्ट्रिय वन क्षेत्र आयोजना निर्माणका लागि उपयोग गर्न नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८१ साल असोज २ गते निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबिच २०८१ माघ २३ गते द्विपक्षीय सम्झौता भएको थियो ।

आयोजनाका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबाट २०८१ फागुन २४ गते १५९३ वटा रुख कटानको अनुमति प्राप्त भएको थियो । यसलगत्तै २०८१ फागुन १ गते टेन्डर आह्वान गरी छनोट गरिएको कम्पनीले २०८२ वैशाख ८ गतेदेखि रुख कटान कार्य सुरु गरेको थियो । हालसम्म ९४० वटा रुख कटान सम्पन्न भइसकेको छ भने बाँकी रुखहरू आगामी असार दोस्रो साता भित्रमा हटाइने जनाएको छ ।

यो परियोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजनाको लागि नेपाल र भारत सरकारबिच २०२३ जुन १ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । आयोजनाको अनुमानित लागत करिब ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । हाल भारतीय पक्षबाट निर्माण कम्पनीको छनोट भइसकेको र चाँडै सम्झौता प्रक्रियामा जाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

यो सुक्खा बन्दरगाह अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधारको रूपमा निर्माण गरिनेछ । यस अन्तर्गत सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैँक, पशुपन्छी तथा खाद्य प्रयोगशाला (क्वारेन्टाइन) र प्रशासनिक भवनहरू निर्माण गरिनेछन् ।गजुरेलका अनुसार परियोजना सम्पन्न भई सञ्चालनमा आएपछि सुदूरपश्चिम क्षेत्रको व्यापार र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

निर्माण सम्पन्न भएपछि भारतसँगको व्यापार थप सहज हुने मात्र नभई सुदूरपश्चिम क्षेत्रबाट निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजनाको उद्देश्य रहेको छ । दोस्रो चरणमा सुक्खा बन्दरगाहलाई भारतसँग प्रत्यक्ष जोड्ने योजना समेत रहेको जानकारी कार्यकारी निर्देशक गजुरेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट