काठमाडौं : यातायात व्यवसायी र मजदुरहरूले सार्वजनिक सवारी साधन बन्द कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सफल बनाउन सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै सार्वजनिक यातायात बन्द लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तत्कालका लागि स्थगन गरेको जनाएको छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समितिको मंगलबार साँझ काठमाडौंमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमार्फत भनिएको छ, ‘यातायात व्यवसायी तथा मजदुरहरूका माग र मुद्दाका सन्दर्भमा जेठ १९ गते राति नेपाल सरकार र संघर्ष समिति सम्मिलित कार्यदलबीचको छलफलले ६ बुँदे निर्णय गरिसकेको छ ।’
संघर्ष समितिको निर्णयसँग अब सार्वजनिक सवारी साधनहरू सञ्चालन हुनेछन् । समस्यामा परेका यात्रुहरू गन्तव्यमा जान सहज हुने अध्यक्ष विजयबहादुर स्वारले बताएका छन् ।
‘निर्णय नम्बर १ का विषयमा गण्डकी प्रदेश सरकारले जारी गरेको साइड सेयरिङ नियमावली स्थगनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २० गते गण्डकी प्रदेश सरकारलाई गरेको सिफारिसलाई गण्डकी प्रदेश सरकारले ग्रहण गर्दै नियमावली स्थगन गर्ने निर्णय गरेकाले संघर्ष समितिले आह्वान गरेको सार्वजनिक यातायात बन्द लगायतका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तत्कालका लागि स्थगन गरेका छौँ,’ अध्यक्ष स्वारले भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्णय गरिएका सबै सहमतिहरू कार्यान्वयन हुनेछन् र अब उप्रान्त यातायात मजदुर व्यवसायीहरूले यस्ता आन्दोलनका कार्यक्रमहरू गर्न नपर्नेगरी नपर्नेगरी सरकारले यातायात व्यवसायी र मजदुरहरूका सवालमा गम्भीरता देखाउनेछ भन्ने आशा र अपेक्षा गरेका छौँ ।’
सरकारले सार्वजनिक यातायात व्यवसायी र मजदुरहरूमाथि निकै ठूलो विभेद गरेपछि उनीहरू आन्दोलन र हड्तालमा उत्रिएका हुन् ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij