Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे

आमा ‘ब्रेन ह्यामरेज’ भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन : राजु पाण्डे

काठमाडौँ : काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेको पाण्डेले बताए ।

निलम्बनपछि रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ।’ निलम्बनको जानकारी पत्र मंगलबार दिउँसोमात्रै पाएको उल्लेख गर्दै उनले पत्रबाट आफू स्तब्ध भएको बताए ।

व्यक्तिगत रूपमा आफूले कुनै गल्ती नगरेको विश्वास दाबी गर्दै उनले निलम्बनबारे मूल्याङ्कन गर्ने अधिकार आम जनतासँग रहेको उल्लेख गरे। “मैले राम्रो गरेँ कि नराम्रो गरेँ भन्ने कुरा मलाई केही भन्नु छैन, आम जनताले मूल्याङ्कन गर्नुहोला,’ उनले भने। ६ महिने निलम्बनपछि उनको सबै जिम्मेवारी खोसिएको छ ।

मानवीयता नदेखाइएको गुनासो

कुराकानीकै क्रममा उनले आफ्नी आमा शनिबार ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिए । यस्तो अवस्थामा मानवीयताको समेत ख्याल नगरी आफूलाई निलम्बनको पत्र थमाइएको उनको गुनासो छ । ‘आमा जीवनमरणको सङ्घारमा हुनुहुन्छ, तर म अहिले पनि अफिसमै कार्यरत छु’ उनले भावुक स्वरमा भने।

महानगरपालिकाका मेयरसँग भने यो विषयमा अहिलेसम्म कुनै छलफल नभएको उनले जानकारी दिए । उनले आफूमाथि भएको कारबाहीको दोष नकसैलाई नथोपर्ने पनि बताए । ‘म कसैलाई दोष दिन चाहन्न, गाली गर्न पनि चाहन्न,’ पाण्डेले भने, ‘जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ।’झण्डै तीन वर्षको कार्यकालमा भित्रबाहिरबाट थुप्रै चुनौतीहरू सामना गरे पनि कर्तव्यबाट पछि नहटेको उनले बताए।

स्थानीय तहको निर्वाचनबाट बालेन शाह निर्वाचित भएसँगै पाण्डेले महानगर प्रहरी बलको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । राजु तत्कालीन महानगर प्रहरी बल प्रमुख धनपति सापकोटालाई विस्थापित गर्दै नेतृत्वमा आएका हुन् । बालेनको चासोमा २०७९ भदौमा सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन् । २०७७ मा उनी नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए । त्यसपछि २०७९ भदौमा बढुवा भएर महानगर प्रहरी बलको नेतृत्व पाएपछि उनले बालेनको हरेक अभियानमा साथ दिँदै आएका थिए । यसैबीच महानगर प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट