काठमाडौँ : गएराति निधन भएका हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई कलाकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका बिहान ९ बजेदेखि १० बजेसम्म पशुपति आयघाटमै राखिएको थियो ।उनलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेत्री निर्देशक दीपाश्री निरौला, वरिष्ठ कलाकार रवीन्द्र खड्का, मदनदाश श्रेष्ठ, राजु केसी र सानापर्दाका थुप्रै कलाकर्मी पुगेका थिए । अन्तिम श्रद्धाञ्जलीमा कलाकर्मीले उनलाई नेपालको राष्ट्रिय झन्डा ओढाएर बिदाइ गरेका छन् ।
श्रद्धाञ्जली दिन पशुपति पुगेका अधिकांश कलाकर्मीले उनको अभिनय र योगदानको चर्चा गरेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित गौतमको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।
अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij