काठमाडौँ : बलिउड अभिनेता सलमान खान यतिबेला भारतीय सञ्चारमाध्यममा ‘नेपाली भाइ’का कारण चर्चामा छन् ।सलमान खानले आफ्नो परिवारमा एक जना नेपाली भाइ रहेको खुलासा गरेको समाचार सोमबार विभिन्न भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफू सानो छँदाको स्मरण सुनाएका हुन् । त्यतिबेला आफ्ना काकाले टेसु नाम गरेका एक नेपालीलाई धर्मपुत्रका रूपमा पालेको सलमानले बताएका हुन् ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार त्यतिबेला टेसु पनि सानै थिए । उनी सलमानकै आवासीय बिल्डिङको चौथो तलामा घरेलु कामदारका रूपमा बस्दै आएका थिए ।टेसुलाई कुनै कारणवस उसको साहुले त्यतिबेला निकालिदिएका थिए । त्यसपछि सलमानको काकाले उनलाई असहाय अवस्थामा फेला पारेर आफूसँगै ल्याएका थिए ।
सलमानका अनुसार उनका काकाले टेसुलाई इन्दौरमा आफूसँगै लगे । काकाले उनलाई धर्मपुत्रजस्तै गरी राखेको र छोराकै हैसियतमा जायजेथासमेत उपलब्ध गराएको सलमानले खुलासा गरेका छन् । यस अर्थमा टेसु आफ्नो भाइ रहेको सलमानले प्रस्ट पारेका छन् ।
यद्यपि, टेसुको नेपालमा को–को छन्, उनको ठेगाना कहाँ हो भन्ने खुलाइएको छैन । हाल उनी इन्दौरमै रहेको बताइएको छ । उनले विवाह गरिसकेको र तीन सन्तानका पिता रहेको सलमानले खुलासा गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij