Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकाको न्यूजर्सीका नेपालीले मनाए नेपाल डे

अमेरिकाको न्यूजर्सीका नेपालीले मनाए नेपाल डे

अमेरिका : अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरूले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले शनिबार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजदूत थापाले नेपालको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले निकै सहयोग पुर्‍याउने भन्दै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताए । त्यस्तै नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपाल सम्बन्धी जानकारी मूलक पुस्तकहरू हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि आग्रह गरे । उनले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणीय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधैँ सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको ब्यानर सहित नेपालीहरू आआफ्नो मौलिक पोसाकमा उपस्थित भएका थिए । कार्यक्रम स्थलमा नेपालका मौलिक सामाग्रीहरूको स्टल राखिएको थियो । कार्यक्रमलाई स्थानीयवासीले निकै रुचि पूर्वक अवलोकन गरेका थिए ।

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवर्द्धक, न्यूयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जीव श्रेष्ठ इभेन्ट डाइरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए ।

न्यूजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आम नेपाली समुदायलाई विशेष धन्यवाद ज्ञापन गरे । सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए ।

d44b3e3b-548e-4ee9-a5bc-4336f32c8da0f96b3b98-8ac9-4172-84e1-083ab30d5bd6

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij