Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

भारतीय सहयोगमा निर्मित महेन्द्र माविको भवन उद्घाटन

भारतीय सहयोगमा निर्मित महेन्द्र माविको भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा अछामको बयालपाटामा निर्माण गरिएको महेन्द्र माविको भवन उद्घाटन गरिएको छ । काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखर, जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर र साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुवँरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग चार करोड ८२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो भवन २०६८ सालबाट सुरु गरेर २०७४ सालमा सम्पन्न भएको थियो ।

भारतले १८ कोठाको दुई तले भवनमा फर्निचर सँगै कम्प्युटर ल्याव र पुस्तकालय समेत स्थापना गरिदिएको छ । सन् २००३ यता भारतले सुदूरपश्चिममा मात्रै ४० भन्दा धेरै विद्यालय भनव, खानेपानी, एम्बुलेन्स, स्कुल बस आदिमा सहयोग गरेको प्रथम सचिव शेखरले बताए ।

सडक सुविधा राम्रो रहेकाले यो विद्यालयमा पनि स्कुल बस सहयोग दिने कुरामा पहल गर्ने भन्दै उनले विद्यालयको घेरबार आदि उठाइएका माग बारे पनि समन्वय गरी थप मित्रता प्रगाढ बनाउने बताए । उनले भने,‘सामाजिक कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रूपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको छ ।’

प्रथम सचिव शेखरको ध्यानाकर्षण गराउँदै जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवँर, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुवँर, पूर्व जिल्ला विकास समिति सभापति भरत कुमार स्वार, समन्वय समितिका निवर्तमान प्रमुख नरबहादुर कुवँर, साँफेबगरका उपप्रमुख शिव बहादुर कुवँर, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष केशर मिया लगायतले यो विद्यालयको घेरबार सँगै अन्य विद्यालयका भवन निर्माण गरिदिन आग्रह गर्दै सडक, खानेपानी र स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्न माग गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालुसिंह कुवँरको अध्यक्षतामा भएको उद्घाटन समारोह पश्चात प्रथम सचिव शेखर लगायतका अन्य सरोकारवालाहरुले नवनिर्मित भवन सँगै कक्षा कोठाहरु, फर्निचर, कम्प्युटर ल्याव र पुस्तकालायको निरीक्षण समेत गरेका थिए । यो विद्यालय अछाम जिल्लाकै पहिलो सामुदायिक विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट