वीरगञ्ज : सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने गरी डिआइजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा बढुवा गर्न डिआइजी ठाडा मगरलाई सिफारिस गरेको हो ।
एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ । सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ । त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ ।
अरू दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन् । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए ।
एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ । सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरु एकसाथ डीआईजी भएका थिए । कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन । वरियतामा ठाडा मगर २ नम्बरमा थिए ।असन्तुष्टि जनाएका गिरी एसएसपी हुँदा ५ नम्बरमा थिए । राजनीतिक चलखेल गरेर उनी डीआईजीमा १ नम्बरमा बढुवा भएका थिए ।
यसरी आफैले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
एआइजी बन्न ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए।
अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आइजिपी बन्नेछन् । दुईमध्ये जो आइजिपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।
त्यसपछिको आइजिपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित जस्तै छ ।अहिले एआईजी नभएका तीन डिआइजी भने आगामी पुस २३ गते अनिवार्य अवकाश हुनेछन् । ठाडा मगरसँगै कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एकसाथ डिआइजी भएका थिए ।
उनीहरू नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा सरेका थिए । गत पुसमै डिआइजीको पदावधि पूरा भए पनि सरकारले एक वर्षे पदावधि थप गरेको थियो । थप भएको पदावधि पनि पुसमा पूरा हुने तर एआईजी नबने डिआइजीहरू अवकाश हुने भएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij