धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिक पुनः पहाडी जिल्लाको निरीक्षणमा जुटेका छन् ।
यसअघि बाजुरा, अछाम, डोटी र डडेल्धुरा जिल्लाको सफल निरीक्षण गरेका डीआईजी बिक अब बाँकी रहेका तीन पहाडी जिल्लाको अवस्थाबारे जानकारी लिन थालेका हुन् ।बुधवार उनले जिल्ला प्रहरी कार्यालय बझाङको अनुगमन गर्दै कार्यालय परिसर, सम्पूर्ण शाखाहरू, ब्यारेक, मेस, क्वाटर गार्ड र हिरासत कक्षको निरीक्षण गरेका छन् ।
निरीक्षणकै क्रममा उनले समग्र जिल्लाको सुरक्षा अवस्था, जनशक्ति परिचालन, प्रशासनिक व्यवस्था तथा जनसंग सम्बन्धबारे जानकारी लिएका छन् ।डीआईजी बिकले जिल्ला प्रहरी कार्यालय बझाङसहित मातहत रहेका प्रहरी इकाइका ईन्चार्जहरूलाई आवश्यक निर्देशन पनि दिएका छन् । उनले शुद्ध प्रहरी सेवाको आवश्यकता औंल्याउँदै अनुशासन, जवाफदेहिता र जनमैत्री व्यवहारलाई प्राथमिकतामा राख्न निर्देशन दिए।
सरुवा भएर सुदूरपश्चिम आएका डीआईजी बिक करिब एक महिनादेखि निरीक्षण र अनुगमनमा क्रियाशील छन् । उनले यसअघि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी इकाइहरूको पनि अवलोकन गरिसकेका छन् ।
उनले प्रहरी संगठनभित्र सुधार ल्याउने विशेषगरी प्रहरीको आचरण सुधारलाई आफ्नो पहिलो प्राथमिकता राखेका छन् । निरन्तर अनुगमनमार्फत प्रहरीको कार्यसम्पादन, सेवा प्रवाह र जनताप्रतिको व्यवहारमा गुणात्मक सुधार ल्याउने उनी सुनाउँछन् ।अब उनले जिल्ला प्रहरी कार्यालय दार्चुला र बैतडीको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij