Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

गङ्गा दशहरा मेला सुरु

गङ्गा दशहरा मेला सुरु

रसुवा : हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गङ्गा दशहरा मेला आज बाट सुरु भएको छ ।मेला सुरु भए सँगै सयौँको सङ्ख्यामा धर्मावलम्बी गोसाईंकुण्ड तर्फ लागेका छन् । गङ्गा दशहराका अवसरमा पतञ्जलि योग समिति मार्फत २५० भन्दा बढी भक्तजनहरू एकै साथ गोसाईंकुण्ड स्नानका लागि गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । यति धेरैको सङ्ख्यामा एकै साथ गएको यो पहिलो पटक हो । हरेक वर्ष ज्येष्ठ प्रतिपदा देखि ज्येष्ठ शुक्ल दशमीका दिन सम्म १० दिन गोसाइँकुण्डमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबिच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न काटकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशङ्करले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ हजार भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट बर्सेनि हजारौँ तीर्थयात्री आउने गरेका छन् । १०८ कुण्ड रहेको रसुवामा बर्सेनि हजारौँको सङ्ख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि ४हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड सन् २००७ सेप्टेम्बरमा राम सार सूचीमा समेत सूचीकृत छ ।गोसाईंकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गङ्गा दशहरा र जनपूर्णिमामा गरी दुई पटक मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट