काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँस्थित जिल्ला अदालतमा सोमबार अभियोगपत्र दायर गरेको हो । बाँकी चार नाबालकविरुद्ध बाल अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
सरकारी वकिलले दुई वटा मिसिल तयार गरी दुर्गा प्रसाई, धवल शमशेर, रविन्द्र मिश्रसहित ५० जनाविरुद्ध राज्य विरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने र संगठित अपराध कसुरमा मुद्दा चलाएको छ ।
बाँकी ११ जनाविरुद्ध भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसमेतको जाहेरीका आधारमा आपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको छ । आपराधिक उपद्रव कसुरमा मुद्दा दायर भएका भाटभटेनी लुटपाटमा संलग्न रहेका देखिन्छन् ।
आपराधिक उपद्रवमा मुद्दा दायर भएका ११ जना इन्ड्राइभ र पठाओ चालक, टेम्पो चालक, आन्दोलन हेर्न आएर फूल रोप्न भनी खाली क्यारेट लग्नेलगायत रहेका छन् । तीमध्ये केहीले आफूहरूलाई राजावादी प्रदर्शनबारे थाहा समेत नभएको बयान प्रहरीसामु दिएका छन् ।
यस्तो छ जिल्ला सरकारी वकिलले प्रतिवादी बनाएका ११ जनाको बयान:
पहिलो प्रतिवादी
बालकुमारीमा बसी इलेक्ट्रिसियन र पठाओ–इन्ड्राइभ चलाउने । भाटभटेनीमा तोडफोड भैरहेको देखेपछि के भएको रहेछ भनेर हेर्न गएको । सामान चोरी भैरहेको, फालिरहेको, प्रहरीलाई ढुङ्गा हानिरहेको देखेपछि आन्दोलनकारीसँग मिसिएर उनीहरुको उक्साहटमा तोडफोड गरी फालिएको फ्रिज र क्यारेटमा आगो लगाएको । कुनै पार्टी र राजनीतिक दलसँग आवद्ध नभएको । राजसंस्था पुर्नस्थापनका लागि सो दिन भएको आन्दोलनबारे सामाजिक सञ्जाल हेरेर थाहा पाएको ।त्यसैदिन बालकुमारीबाट पक्राउ ।
दोस्रो प्रतिवादी
त्यसदिन कोठामै बसिरहेकोमा भाटभटेनीमा हल्ला भएको सुनेपछि गएकोमा त्यहाँ तोडफोड भैरहेको देखेको । कम्पाउन्डमा बसिरहेको बेला भाटभटेनीको सेक्युरिटी गार्डले धाराको पाइपले हिर्काएपछि रिस उठी भुइँमा रहेको नरिवलले सेक्युरिटीलाई र त्यसपछि भुइँमा रहेको बेल्चाले नजिकै पार्किङ गरिराखेकोे गाडीको दुवैतर्फको सिसामा हानेको । हालसम्म कुनै दलको सदस्यता नलिएको । चैत १७ गते कोठाबाट पक्राउ तीनकुने घटना, घर तथा सवारीसाधन आगजनी र पत्रकारको हत्याबारे सुनिथाहा पाएको ।
तेस्रो प्रतिवादी
कोठामै बसिरहेको बेला भाटभटेनीमा हल्ला भएपछि पुगी स्टोरबाट यार्सागुम्बा लेखिएको रक्सी र एक किलो स्याउ लगेको । तीनकुने घटनामा संलग्न नरहेको, त्यसबारे सामाजिक सञ्जालमा भिडियो हेरी थाहा पाएको । चैत १७ गते भाटभटेनी नजिकै रहेको आफ्नै कोठाबाट पक्राउ ।
चौथो प्रतिवादी
त्यसदिन साँझ ४–५ बजेतिर कोठाबाहिर हावा खाँदै बसिरहेकोमा नाम थाहा नभएकी छिमेकी दिदीले भाटभटेनी लुटपाट गरी सामान लिएर जाँदैछन् रे हामी पनि जाउँ न के रहेछ भनेपछि सँगै गएको । त्यहाँ पुग्दा भाटभटेनीको अगाडिको सिसा प्रदर्शनकारीले फुटाइसकेको । कसैले सामान फुटाउँदै र कसैले लाँदै गरेकोमा ११–१२ वर्षको सानो केटोले कुद्दै खाली क्यारेट ल्याइ आन्टी एकछिन समाइदिनु न भनेपछि म समाउन्न त्यहाँ राख हेरिदिन्छु भनेको । क्यारेट रुँग्दै बसेकोमा त्यो केटो नआएपछि खाली क्यारेट त हो फूल रोप्न हुन्छ भनेर लगेर गएको । चैत १६ गते पक्राउ ।
पाँचौँ प्रतिवादी
डेराबाट खाजा खान भनी भाटभटेनी पछाडिको गल्लीमा निस्किएको होहल्ला सुनेपछि गएको । मानिसहरुले विभिन्न सरसामान बोकी लगिरहेको देखेपछि एक डबल ब्ल्याक र दुई वटा ज्याक डेनिस रक्सी लिएर गएको । तीनकुने घटनामा सरिक नभएको, त्यसबारे सामाजिक सञ्जालबाट थाहा पाएको । चैत १७ गते कोटेश्वरस्थित कोठाबाट नियन्त्रणमा लिएको ।
छैटौँ प्रतिवादी
तीनकुने घटनामा प्रत्यक्ष संलग्न नभएको, त्यसबारे भिडियो हेरिथाहा पाएको । भाटभटेनी नजिकै होस्टल भएकाले अन्य साथीहरूसहित त्यहाँ पुगेकोमा गेटमा साथीहरुले ११ थान टिसर्ट, दुई थान बच्चाले लगाउने कट्टु दिएपछि लिई भागेको । चैत १७ गते पक्राउ
सातौँ प्रतिवादी
ललितपुर रुट नम्बर १४ को टेम्पो चालक । तीनकुनेमा भएको प्रदर्शनले बाटो बन्द हुने थाहा पाएपछि लगनखेलमा टेम्पो पार्किङ गरेर कोटेश्वर फर्किएको । कोठानजिकै भाटभटेनीमा तोडफोड गरी लुटपाट गरेर सामान लगिरहेको देखेर आफू पनि त्यहाँ पुगी ८–नौ थान टिसर्ट, चार थान स्याउ, एक थान सुन्तला लिइगएको । पक्राउपछि पाउरोटी खाइसकेकोमा अन्य सामान तीनकुनेस्थित प्रहरी चौकीमा बुझाएको ।
आठौँ प्रतिवादी
देब्रे खुट्टामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ आई छोराको डेरामा बसेको एक महिना भएको । उपचारसँगै काम पनि शुरु गरेको । त्यसदिन ग्वार्कोको थेरापी सेन्टरमा गई औषधि उपचार गराइ फर्किरहँदा भाटभटेनीमा लुटपाट भैरहेको देखेर भित्र गएको । चार थान स्याउ र १ थान सुन्तला लिई फरार भएको । फलफूललगायत सामान लानेबाहेक अन्य गतिविधिमा संलग्न नभएको ।
नवौँ प्रतिवादी
कोटेश्वरस्थित डेरा कोठामा बसिरहेको बेला भाटभटेनीमा होहल्ला भएपछि त्यहाँको अवस्था थाहा पाएको । भाटभटेनी कम्पाउन्डमा प्रवेश गरी तीन बोतल अर्ना र एक बोतल बर्डभाइजर बियर बोकी गएको ।
दशौँ प्रतिवादी
तीनकुने घटनाबारे सामाजिक सञ्जालमा भिडियो हेरिथाहा पाएको । होस्टल नजिकै भाटभटेनीमा तोडफोड भएको थाहा पाएपछि त्यहाँ गई १४ थान टिसर्ट, दुई थान बच्चाको कट्टु लिई गएको । होस्टलमा टिसर्ट र कट्टु लुकाइछिपाइ राखेको अवस्थामा चैत १७ गते पक्राउ ।
एघारौँ प्रतिवादी
होस्टलको वार्डेनले भाटभटेनीमा तोडफोड भैरहेको बताएपछि गएको । धेरैले लुटपाट गरिरहेको देखेपछि हेरेर बसेको । एक जनाले खाली कार्टुन बोकी बाहिर ल्याइ फालेकोमा त्यसमा चार बट्टा चुरोट देखेपछि उठाइ लिई गएको । आफू चुरोट नखाने भएकाले होस्टलमा बस्ने अन्य दाइहरुलाई दिएको । अश्रुग्यास प्रहार हुन थालेपछि त्यहाँबाट भागी होस्टलमा गइबसेको । दुर्गा प्रसाई र रविन्द्र मिश्रलाई सामाजिक सञ्जालबाट चिनेकोमा तीनकुने घटनामा संलग्न अन्य आरोपीलाई नचिन्ने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij