नुवाकोट : स्थानीय तहमा रहेको मेलमिलाप केन्द्रमा उजुरीहरू घट्दै गएको छ । स्थानीय तहले मेलमिलाप गर्ने अधिकार पाएका उजुरीहरू छिनोफानो गर्ने गरेका छन् ।नुवाकोटको विदुरमा आयोजित यस सम्बन्धी विशेष अन्तर्क्रियामा स्थानीय तहमा रहेका मेलमिलाप केन्द्रमा विगतको तुलनामा कम उजुरीहरू पर्ने गरेको जानकारी दिइएको छ । विभिन्न जनप्रतिनिधि, न्यायिक समिति सदस्य÷ न्यायिक सहजकर्ता÷ मेल मिलापकर्ताहरुसंग आयोजित मेलमिलाप सम्बन्धी अन्तर्क्रियामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा न्यायिक निरूपण र मेलमिलापको सन्दर्भमा नुवाकोटका १२ वटै स्थानीय तहका न्यायिक समितिबिच विशेष अन्तर्क्रिया गरिएको हो । सो क्रममा उजुरी घटाउन स्थानीय तह सफल भएको निष्कर्ष निकालिएको छ ।
नुवाकोटको सदरमुकाम विदुर समेटिएको विदुर नगरपालिकाको न्यायिक समितिमा बितेको तीन वर्षको तुलनामा चालु वर्षमा कम उजुरी दर्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न प्रकृतिका ७० थान, आव २०८०÷०८१ मा ८५ थान र चालु आवको हालसम्म ६० थान उजुरी परेको छ ।
समितिमा अधिकांश उजुरीहरू लेनदेन र जग्गा सम्बन्धी पर्ने गरेका छन् । चालु आवको हालसम्म समितिमा १५ थान लेनदेन र १३ थान जग्गा सम्बन्धी, आठ थान गोरेटो बाटो सम्बन्धी, सात थान घरायसी सम्बन्धी, पाँच थान सांंधसिमाना सम्बन्धी उजुरी परेको न्यायिक समितिकी संयोजक तथा उपमेयर प्रभा बोगटीले बताउनुभयो ।उहाँका अनुसार ९० प्रतिशत उजुरीहरू मेलमिलाप गरेरै समाधान गरिएको छ । अव समितिमा सात वटा उजुरी मात्रै छलफल गर्न बाँकी रहेको छ ।
विदुर नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीहरूमध्ये अधिकांश उजुरीहरू मेलमिलापबाटै समाधान भएको न्यायिक समितिकी संयोजक तथा उपमेयर बोगटीले बताउनुभयो । समितिमा आर्थिक वर्ष २०८०÷२०८१ मा परेको ६० वटा उजुरी मध्ये ९० प्रतिशत उजुरी मेलमिलापको माध्यमबाट समाधान भएको समितिकी सहजकर्ता राममाया न्यौपानेले बताउनुभयो ।
चालु आवमा घरायसी सम्बन्धी निवेदनमा ७ वटामा ७ वटै मेलमिलापबाट समाधान भएका छन् । लेनदेन सम्बन्धी १५ वटा उजुरीमा ७ वटा समाधान र ८ वटा मेलमिलापको माध्यमबाट समाधान भएको छ ।
जग्गा सम्बन्धी १३ वटा निवेदन मेलमिलापका आधारमा समाधान भएको छ । ज्याला मजदुरी सम्बन्धी २ वटा, गोरेटो बाटो सम्बन्धी ८ वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको न्यायिक समितिले जनाएको छ ।
संवैधानिक अधिकार अन्तर्गत व्यवस्था भएको न्यायिक समितिमा कार्यसम्पादनमा १०० मा १०० प्रतिशत नै रहँदै आएको छ । न्यायिक समितिका अनुसार पशुपन्छी पाल्दा असर पु¥याएको सम्बन्धी ४ वटामा २ वटा फैसला र दुई वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको छ ।
साँध सिमाना सम्बन्धी ५ वटा, कुटपिट सम्बन्धी ३ वटा, अंशबन्डा सम्बन्धी २ वटा मेलमिलापबाट र खानेपानी सम्बन्धी एउटा उजुरी छलफलबाटै समाधान गरिएको छ । समितिले विवादहरूको समाधानको लागि आवश्यकता अनुसार कार्यस्थलमै जाने र तथ्य प्रमाण सङ्कलन गरी न्यायिक निरूपण गर्दै आएको जनाएको छ ।
विदुर नपा कार्यालयमा छुट्टै इजलासको व्यवस्था गरी न्यायिक निरूपणलाई विश्वसनीय र प्रभावकारी बनाइएको उपमेयर प्रभा बोगटीको भनाई छ । मेलमिलापको लागि नगर स्तरीय मेलमिलाप केन्द्र सहित १३ वटै वडामा मेलमिलाप केन्द्रसमेत क्रियाशील गराइएको छ ।
विदुर नपा मा संयोजक प्रभा बोगटी सहित दुई सदस्य गणेशकुमार नेपाल र सीता बोगटी रहेको न्यायिक समिति रहेको छ । न्यायिक समितिको कामलाई व्यवस्थित गर्न न्यायिक सहजकर्ता राखिएको छ ।
मेलमिलापलाई प्रभावकारी बनाउन ७१ सदस्यीय मेलमिलापकर्ताहरू विभिन्न वडा स्तरमा सक्रिय रहेका छन् । आम सर्वसाधारणलाई न्यायमा सहज र छिटो पहुँचको लागि स्थापना गरिएको न्यायिक समितिको कार्य सम्पादन प्रभावकारी बनाउँदै लगिएको विदुर नपाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij