जुम्ला : जुम्लाको हिमा गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । कर्णाली प्रदेशका ७९ वटा स्थानीयमध्ये हिमा गाउँ पालिका पहिलो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा भएको हो ।आइतबार एक समारोहका बीच नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीद्वारा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको हो ।
घोषणापछिको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले सन् २०३० भन्दा अघि सात प्रदेशमध्ये कर्णाली प्रदेशलाई पहिलो बाल विवाहमुक्त घोषणा प्रदेश बनाउने गरि काम गर्नुपर्ने बताउनुभयो ।दुर्गम हिमाको सामाजिक तथा भौतिक विकासका लागि आफ्नो मन्त्रालय र वर्तमान सरकारले भरपुर सहयोग गर्ने उल्लेख गर्नुभयो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमाले भौतिक विकाससँगै सामाजिक विकासमा समेत नमुना बनेको बताउनुभयो । खानेपानी विकासमा पनि कर्णालीकै नमुना बनेको हिमा सामाजिक विकृतिका रुपमा रहेको बालविवाह शुन्यमा झार्न समेत सफल भएको बताउनुभयो ।
सीमित स्रोत साधनका बीच पनि समाजका व्याप्त रुपमा रहेका बालविवाहले पारेको असरलाई मध्यनजर गर्दै विभिन्न चुनौतीका बीच बालविवाह मुक्त पालिका बनाउन सफल भएको उहाँको भनाई छ ।
महिला तथा बालबालिका शाखा प्रमुख राज्य लक्ष्मी रावलले बालविवाह मुक्त पालिका घोषणा अघि गरेको, सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार अनुसार हिमाका सातै वडामा गरिएका बिहे गर्ने जोडीहरू सबैले २० वर्ष पूरा गरेको भेटिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij