Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

गृहिणीका लागि भलाकुसारी, स्थानीय तहका लागि आम्दानीको स्रोत बन्दैछन् घट्ट

गृहिणीका लागि भलाकुसारी, स्थानीय तहका लागि आम्दानीको स्रोत बन्दैछन् घट्ट

धनगढी : असार लागेपछि धान रोपाइँको चटारो सुरु हुने भएकाले बझाङका किसान अहिलेदेखि नै खाद्यान्न जोहो गर्न थालेका छन् । असार लागेपछि एकातिर बर्खा सुरु हुने र अर्कोतिर रोपाइँको चटारो पनि बढ्ने भएकाले जेठ महिनालाई उनीहरू खाद्यान्न तथा अत्यावश्यक वस्तु जोहो गर्ने समयका रूपमा लिन्छन् ।

बझाङका किसान यतिबेला घट्टमा गहुँ, कोदो, मकै, चामल पिसेर पिठो तयार पार्ने काममा लागेका छन् । बर्खामा घट्ट प्रायः बन्द हुन्छन् । रोपाइँका लागि कयौँ दिन खेतमै व्यस्त हुनु पर्ने अवस्था हुन्छ । त्यसैले बझाङवासी खाद्यान्नको पर्याप्त जोहो गरेर राख्छन् ।

जताततै आधुनिक मिल स्थापना भए पनि बझाङका किसान भने अहिलेसम्म पानी घट्ट चलाएरै अन्न पिसेर पिठो बनाउँदै आएका छन् ।केही दिन अघि एकाबिहानै गहुँको भारी बोकेर घट्टमा पुगेकी दुर्गाथली गाउँपालिका–७ की झीरकुली दौल्यालले घट्टमा पिसेको पिठो स्वादिलो हुने बताइन् ।

उनले भनिन्, ‘घट्ट त हाम्रो संस्कारजस्तै हो । बाजेको पालादेखि हामी यही घट्टमा अन्न पिस्दै आएका छौँ ।’छविसपाथीभेरा गाउँपालिका–६, लेकगाउँकी बिजमती बुढा र दौलाकी जौकला दौल्याल पनि पानी घट्टकै पिसनमा आफूहरू बानी परेको बताउँछन् ।

बझाङका अधिकांश बस्तीमा बिजुलीबाट चल्ने मिल छैनन् । मिल भएका ठाउँमा पनि पर्याप्त विद्युत् आपूर्ति नहुँदा सञ्चालनको भर हुँदैन । गाउँका किसान साँझ–बिहान समय मिलाएर पानी घट्टसम्म अन्नपात पिस्न पुग्छन् ।‘मिलमा पिसाएको पिठोको रोटी स्वादिलो हुँदैन,’ बिजमतीले भनिन्, ‘त्यसमाथि पैसा पनि लाग्छ । घट्टमा पिस्दा खर्च हुँदैन ।’

घट्टमा आउनुलाई महिलाहरू भलाकुसारी गर्ने मौकाका रूपमा समेत लिन्छन् । घट्टमा अन्न पिस्न समय लाग्ने भएकाले महिलाहरू आपसमा गफिने, सुख–दुःखका कुरा साट्ने मौका ठान्छन् ।‘हामी गाउँका किसान घट्टविना अधुरो छौँ जस्तो लाग्छ, गाडको पानीको सहारामा फनफनी घुम्ने घट्टको फेदाराजस्तै हाम्रो जीवन पनि घुमिरहेको छ,’ बिजमतीले भनिन् ।

घट्टमा पिस्दा शुल्क तिर्नु पर्दैन । आफूले पिसाएको अन्नको अनुपात अनुसार केही अन्न घट्टवालालाई दिइन्छ । त्यसैले हातमा पैसा नहुने किसानका लागि घट्ट प्रयोग गर्नु आर्थिक हिसाबले फाइदाजनक हुन्छ ।

दुर्गाथलीकी सीता दौल्याल दशकौँदेखि घट्ट सञ्चालन गर्दै आएकी छन् । उनले भनिन्, ‘बिहान–बेलुका गरी दैनिक २० किलो जति पिठो पिसिन्छ । घट्ट चलाएर मैले सन्तान हुर्काएँ, परिवारको खर्च टारेँ ।’उनका अनुसार घट्टको आँगनमा सामाजिक आत्मीयता हुन्छ । साथीहरूसँग घट्टमा जाँदा गफगाफ हुन्छ । एकअर्काको सुखदुख बुझ्न पाइन्छ ।

‘अहिलेका मान्छे मोबाइल चलाउँछन् । त्यही मोबाइलबाटै साथीभाइसँग सुख–दुःख साट्छन् होला । हामी त यही घट्टमा आएर गफगाफ गरेर सुख–दुःख साट्छौँ,’ जौकला दौल्यालले भनिन् ।उनका अनुसार पहिलेको तुलनामा अहिले घट्टमा पिस्ने चलन कम भए पनि यसको महत्त्व भने पहिलेभन्दा बढेको छ ।

बझाङका दुर्गाथली र छविसपाथीभेरा गाउँपालिका छिमेकी स्थानीय तह हुन् । यी पालिकाका केही वडामा लघु जलविद्युत् परियोजना पुगेका छन् । राष्ट्रिय प्रसारण लाइन भने थोरै ठाउँमा मात्रै पुगेको छ ।

‘लघु जलविद्युत् विस्तार भएका ठाउँमा बत्ती बाल्नमात्र विद्युत् पुग्छ । दिउँसो मिल वा अन्य उद्योग चलाउन विद्युत्को क्षमता पुग्दैन,’ बिजमतीले भनिन् ।दुर्गाथली गाउँपालिकाका अनुसार हाल दुर्गाथलीमा ३५ वटा घट्ट छन् । तीमध्ये सात वटा सुधारिएका घट्ट हुन्, जसमा बर्सेनि २५० रुपैयाँ कर लिइन्छ ।

पानीघट्ट स्थानीय सरकारको आय सङ्कलनको सशक्त माध्यम बनेका छन् । घट्टबाट सङ्कलन भएको कर स्थानीय पूर्वाधार विकास, शिक्षा र कृषिमा प्रयोग गरिँदै आएको छ । पालिकामा बग्ने खोलाको बहावले सरकारका लागि समेत आयस्रोत जुटाइदिएको छ ।जबसम्म पर्याप्त विद्युत् आपूर्ति सुनिश्चित हुँदैन, तबसम्म मिल र साना उद्योगको विस्तार सम्भव देखिँदैन । अझै केही वर्ष बझाङका धेरैजसो किसान घट्टकै भर पर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट