काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भिजिट भिसाको नाममा भइरहेको मानव तस्कर प्रवृत्तिलाई लिएर कडा धारणा सार्वजनिक गरेका छन्। उनले यो प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाही हुनैपर्ने स्पष्ट चेतावनी दिएका छन्।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै खतिवडाले यस्तो आपराधिक गतिविधि आजको मात्र समस्या नभएको र यसअघि पनि पटक–पटक उजागर भइसकेको स्मरण गराए। गृहमन्त्री रमेश लेखकले संसदमा जवाफ दिन तयार रहेको भन्दै उनले दोष लागेका व्यक्तिलाई पनि आफ्ना कुरा राख्न पाउने अवसर दिनु आवश्यक भएको उल्लेख गरे।
"गृहमन्त्रीले संसदमा १३ गते आफ्नो धारणा राख्ने बताउनुभएको छ," खतिवडाले भने, "हामी त्यो जवाफ प्रतीक्षामा छौं। तर, जो कसैले अपराध गरे पनि, ऊ उच्च पदस्थ होस् या नहोस्, कानूनको कठघरामा उभिनैपर्छ।"
खतिवडाले यो प्रकरणमा श्रम मन्त्रालयको संलग्नता पनि उल्लेख गर्दै श्रममन्त्री शरदसिंह भण्डारीले संसदमा उभिएर जवाफ दिनुपर्ने मागसमेत गरे। ललितपुरको लुभुमा चार रोपनी क्षेत्रफलमा खोलिएको एक प्रशिक्षण केन्द्रमार्फत महिलालाई भिजिट भिसाको नाममा विदेश पठाउने तयारी भइरहेको सूचना समितिसम्म आइपुगेको भन्दै उनले यसमा मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएका छन्।सरकारका जिम्मेवार निकायहरूकै संरक्षणमा यस्तो आपराधिक धन्दा फस्टाउँदै गएको संकेत दिँदै खतिवडाले निष्पक्ष छानबिन र कठोर कारबाहीको माग गरेका छन्। संसदमा बहस तात्दै जाँदा अब दोषी को–को पत्ता लाग्छ र तिनलाई कारबाही हुन्छ कि हुँदैन भन्ने कुराले सरकारको नैतिकता र पारदर्शितामाथि ठुलो प्रश्न उभ्याउने देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij