काठमाडौँ : मिस इङ्गल्यान्ड २०२५ की प्रतिस्पर्धी मिला म्यागीले मिस वर्ल्ड पेजेन्टको बिचमै हैदराबादबाट फिर्ता हुँदै प्रतियोगिता छाडेकी छिन् ।२४ वर्षीया म्यागीले बेलायतको चर्चित पत्रिका ‘द सन’सँगको अन्तर्वार्तामा मिस वर्ल्ड आयोजकमाथि गम्भीर आरोप लगाएकी छन् । उनका अनुसार आयोजकहरूले उनलाई प्रायोजक तथा फाइनान्सरहरूसँग ’सम्बन्ध विस्तार गर्न’ दबाब दिएको बताइन् ।
म्यागीले भनेकी छन्, ’पेजेन्टमा मलाई यस्ता काम गर्न बाध्य पारियो, जसले मलाई वेश्याजस्तो महसुस गरायो । हामी सामाजिक विषयमा बोल्न आएका थियौँ, मनोरञ्जन दिन होइन ।’ उनका अनुसार प्रतियोगितामा सहभागी १०९ जना युवतीहरू दिक्कलाग्दो खालका भएकाले सधैँ सजिएर बस्दिनुपर्ने, मुस्कुराइरहनुपर्ने र पाहुनालाई खुसी बनाइरहन दबाब दिने गरिन्थ्यो ।
’हामीलाई दिनभर भारी गाउन (लुगा) र ब्रेकफास्टको समयमा पनि मेकअपमा रहन भनिन्थ्यो, हरेक टेबलमा ६ पाहुना र २ प्रतियोगी राखिन्थ्यो, जहाँ हामीलाई पाहुनालाई रमाइलो गराउन भनिन्थ्यो,’ उनले भनिन् ।
मिस वर्ल्ड आयोजकको प्रतिक्रिया
मिस वर्ल्डकी सीईओ तथा चेयरपर्सन जुलिया मोर्लेले २४ मेमा आधिकारिक वक्तव्य जारी गर्दै म्यागीका आरोपहरू अस्वीकार गरेकी छन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ,’मिला म्यागीले आफ्नी आमाको स्वास्थ्य समस्याका कारण प्रतियोगिता छाड्ने निर्णय गरेकी हुन् । सङ्गठनले परिस्थितिलाई बुझ्दै उनको स्वदेश फिर्तीको व्यवस्था गर्यो।’उक्त वक्तव्यमा म्यागीका आरोपहरू पूर्ण रूपमा झूटा र अपमानजनक भएको दाबी गरिएको छ । सङ्गठनले बेलायती मिडियामाथि गलत रिपोर्टिङ गरेको आरोपसमेत लगाएको छ ।
म्यागीले छाडेपछि रनर–अपलाई मौका
म्यागीले प्रतियोगिता छाडेपछि मिस इङ्गल्यान्डकी रनर–अप चार्लोट ग्रान्टले उनको स्थान लिएकी छन् । जसको फिनाले ३१ मेमा हुँदै छ । प्रतियोगिता अन्तिम चरणमा पुगिसकेको अवस्थामा प्रतिनिधि परिवर्तनले इंगल्यान्डको दाबेदारीमा असर पर्ने सम्भावना देखिएको छ ।मिस वर्ल्डको ७४ वर्षको इतिहासमा मिस इंगल्यान्डको प्रतिनिधि परिवर्तन गरिएको पहिलोपटक हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij