Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला

नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला

नयाँ दिल्ली : दिल्लीस्थित बवाना नजिक रहेको सीआईएसएफ क्याम्पको छेउबाट बग्ने मुनक नहरमा बिहीबार डुबेका चारै जना किशोरको मृत्यु भएको छ । तीमध्ये दुई दाजुभाइको शव शुक्रबार बिहान उद्धार टोलीले नहरबाट निकालेको हो ।चारै जना गाजियाबादको लोनी क्षेत्रका बासिन्दा थिए । र हाल बाह्य दिल्लीको कटेवरा गाउँको गोशालामा उनीहरू आफन्तसँग बस्दै आएका थिए ।

बिहीबार मध्याह्न नहरमा नुहाउने क्रममा एक किशोर डुब्न थालेपछि उनलाई बचाउने प्रयासमा अन्य तीन जना पनि डुबेका थिए। प्रारम्भिक खोज अभियानमा दुई किशोर समद र सुहैलको शव घटनापछि केही घण्टामै निकालिएको थियो । तर अन्य दुई –१८ वर्षीय जावेद र १७ वर्षीय शावेज खान – को खोजी कार्य शुक्रबार बिहान पुनः सुरु गरिएको थियो ।

शुक्रबार बिहान करिब ११ बजे जावेदको शव फेला पारिएको र त्यसको तीन घण्टापछि शावेजको पनि शव निकालिएको उद्धार टोलीले जनाएको छ। दुई दाजुभाइको शव एकैसाथ देखेपछि परिवारमा रुवाबासी मच्चिएको थियो।जावेद र शावेजका पिता वकिलले उद्धार कार्य ढिला सुरु भएको आरोप लगाउँदै समयमा गोताखोरहरू नआएको गुनासो गरेका छन् । समदका पिता अब्बासका अनुसार, चारै जना किशोर नहरनजिकै रहेको खेतमा गाईबस्तुका लागि घाँस काट्न गएका थिए। त्यही क्रममा उनीहरू नहरमा नुहाउन गएका थिए।

उद्धार कार्यकै दौरान शुक्रबार फेरि दुई किशोर नहरमा नुहाउने क्रममा डुब्न थालेका थिए । गोताखोरहरूको सतर्कताका कारण दुवैलाई समयमै बचाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । ती किशोरहरू पनि आपसमा दाजुभाइ भएको खुलेको छ । उनीहरू स्कुल झोलासहित नहरमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij