काठमाडौं : लागूऔषध दुर्व्यसनरहित घर अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम काठमाडौं चन्माद्रागिरिमा सम्पन्न भएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रागिरी नगरपालिकाको संयुक्त आयोजनामा तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौंको सहकार्यमा कार्यक्रम ग्रीनल्याण्ड बैंक्वेट, थानकोटमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उनले लागूऔषधको प्रयोगका कारण समाजमा आपराधिक गतिविधि बढेको उल्लेख गर्दै, नागरिक स्वयं जागरुक बन्नुपर्नेमा जोड दिए। उनले उपत्यकालाई सुरक्षित बनाउने उद्देश्यले अभियानलाई तीव्रता दिइएको जानकारी दिए।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा नाका लागूपदार्थ ओसारपसारको मुख्य मार्ग भएको भन्दै त्यसको नियन्त्रणका लागि नगरपालिका प्रहरीसँग समन्वयमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख बसन्ती श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष शंकर महर्जन, कलाकार दिपकराज गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी जानकारी, असर र कानूनी प्रावधानबारे प्रस्तुति दिनुभएको उक्त कार्यक्रममा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर सार्वजनिक गर्नुका साथै सचेतनामूलक भिडियो पनि प्रस्तुत गरिएको थियो।
सचेतनामूलक कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij