Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र

पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले काठमाडौँ जिल्लाका दश नगरपालिका र एक महानगरपालिकालाई सात बुँदे मागसहित बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ । “मिडिया बचाउ अभियान“ अन्तर्गत महासङ्घले आगामी नीतिहरू, कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा विकास सुनिश्चित गर्न आग्रह गरेको हो ।

काठमाडौँ शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा शाखामा आबद्ध पत्रकार, विशेषतः साना तथा स्वरोजगारमूलक मिडिया र उक्त मिडियामा संलग्न सञ्चारकर्मीको हकहित सुनिश्चित गर्न माग गरिएको छ।महासङ्घका अनुसार काठमाडौँ शाखामा हाल करिब ११ सय पत्रकार आबद्ध छन्, जसमा धेरैजसो साना लगानीका मिडिया सञ्चालक तथा श्रमिकका रूपमा कार्यरत छन् ।

  • स्वरोजगारमूलक मिडिया संरक्षण र नीति निर्माणः

देशभरकै सबैभन्दा धेरै स्वरोजगारमुखी सञ्चारमाध्यम आबद्ध शाखाका रूपमा, यस्ता मिडियाको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना र नीति निर्माणको माग ।

  • लोककल्याणकारी विज्ञापन र फेलोसिपको व्यवस्थाः

विज्ञापन वितरण प्रणालीलाई प्रभावकारी बनाई पत्रकारका लागि अनुसन्धान र लेखनमा आधारित फेलोसिप कार्यक्रम सुरु गर्न आग्रह ।

  •  परम्परागत र नयाँ मिडियाको संरक्षणः

साप्ताहिक, पाक्षिक, मासिक तथा मध्यमस्तरका दैनिक पत्रिकाहरूको ऐतिहासिक योगदानलाई ध्यानमा राखी संरक्षण तथा प्रवर्द्धन, साथै अनलाइन मिडियाका लागि छुट्टै नीति निर्माण ।

  • पत्रकार कल्याणकारी कोषमा बजेट विनियोजनः

तालिम, गोष्ठी, सेमिनारलगायत कार्यक्रमका लागि नगरपालिकाबाट १० लाख र महानगरबाट २५ लाख रुपैयाँ बजेट विनियोजनको माग ।

  • समावेशी विज्ञापन नीतिः

विभिन्न भाषाभाषी, महिला, दलित, आदिवासी र जनजातिका सञ्चारमाध्यमलाई प्राथमिकतामा राखी समावेशी ढंगले विज्ञापन र सूचना वितरण ।

  • मिडियामैत्री नीति तथा कानुन निर्माणः

संविधानको भावना अनुसार पत्रकारमैत्री नीति तथा कानुन स्थानीय तहबाट निर्माण गर्न जोड ।

  • महानगरसँग सहकार्यको प्रस्तावः

महानगरपालिकाका सबै कार्यक्रमहरूमा महासङ्घ काठमाडौँ शाखासँग सहकार्य गर्न प्रस्ताव ।

अध्यक्ष अर्यालले पत्रकारिता लोकतान्त्रिक अभ्यासको मेरुदण्ड भएको उल्लेख गर्दै राज्यका सबै तह र निकायहरूलाई पत्रकारको सुरक्षा, विकास र सशक्तीकरणका पक्षमा नीतिगत तथा व्यावहारिक पहल गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट