Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

प्रहरीमा एसएसपी बढुवाको तयारी, यी हुन् प्रतिस्पर्धीहरु

प्रहरीमा एसएसपी बढुवाको तयारी, यी हुन् प्रतिस्पर्धीहरु

काठमाडौं : नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएसँगै रिक्त भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाको तयारी थालिएको छ । रिक्त पद पूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो ।

बढुवा सिफारिस समितिले गत मंगलबार ११ जनालाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै प्रधान कार्यालयले रिक्त एसएसपी पदमा बढुवाको तयारी थालेको हो । गृहकार्य थालिएकोमा एसएसपी बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

जसका लागि केही अधिकृतहरुले विचौलियामार्फत दौडधुप सुरु गरेका छन् । स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन् । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन् ।

एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन् । २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए । जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए ।

त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुल बहादुर कार्की, दयानिधी ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दिपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् ।

गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको हो । बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन् ।

विवादित एसपीहरुको अस्वभाविक घरदैलो

हाल एसएसपी बढुवाको दैडमा रहेका एसपी कमल थापाले बढुवाका लागि अस्वभाविक दौडधुप गरिरहेको बताइएको छ । यस अगाडि सुदूरपश्चिमको कञ्चनपुर बस्दा उनी निकै विवादित बनेका थिए ।

तस्करसँगको घुमुवामार्फत सेटिङ, आर्थिक अनुशासन कायम नराखेको, मुद्दा शाखामा विवादित कर्मचारी राखेको लगायतका विषयमा विवादित बनेका थिए । त्यसपछि उनीविरुद्ध छानबिन पनि भएको थियो । तर उनलाई त्यसमा केही कारबाही भए/नभएको भने खुलेको छैन ।

त्यतिमात्र होइन, उनको विगत पनि त्यति सफा देखिदैन । २०७७ कात्तिकमा सुनसरी प्रहरी प्रमुख हुँदा एसपी थापामाथि आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो । त्यसबेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो ।

त्यस अगाडि डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन् । २०७७ पुसमा सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका थिए ।

एमाले निकट विवादास्पद एसपी थापा अहिले पनि एमाले च्यानलमार्फत राजनैतिक घरदैलो अभियान थालेका छन् । बढुवाका लागि झापाका नेता गोविन्द थापामार्फत सोमबारदेखि उनले अभियान थालेको बताइएको छ । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बढुवाका लागि हारगुहार गरेको बुझिएको हो ।

यस्तै प्रकाश रानाभाट समेत विवादित प्रहरी अधिकृत हुन् । उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका थिए । कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् । रानाभाट भने नेताहरुको घरदैलो चाहरिहेका छन् ।

यस्तै प्रविण धिताल, राकेश सिंह र केदार खनाल समेत कमजोर प्रहरी अधिकृत हुन् । कमजोर कमाण्डिङ क्षमताका कारण धिताल सर्लाहीबाट ४ महिनामै तानिएका प्रहरी अधिकृत हुन् । तर, अहिले उनी जसरी पनि बढुवा हुने दाउमा छन् ।

यस्तै सिंह समेत धादिङ बस्दा आर्थिक विवादमा तानिएका हुन् । त्यतिमात्र नभएर उनी प्रहरी संगठनमा रुचाइएका पात्र समेत होइनन् । उनीसँगै काम गरेका एक प्रहरी अधिकृतका अनुसार सिंहको अस्वभाविक पैसाको चलखेल सधैं हुने गर्छ ।

त्यस्तै खनाल समेत गोरखा बस्दा विवादमा तानिएका प्रहरी हुन् । कार्यालयमै बसेर मस्ती गर्न रुचाउने स्वभावका खनालको प्रहरी संगठनमा कमजोर कमाण्ड छ । जसले गर्दा उनले कमान्न्ड गरेको कार्यालय सधै भद्रगोल बन्ने गरेको छ । हाल बर्दिया प्रमुख रहेका त्यहाँको अवस्था नाजुक रहेको बताइन्छ ।

जुनियर टोलीको अस्वभाविक चलखेल

त्यसैगरी कमजोर क्षमताका जुनियर एसपीहरु रमेश पण्डित, अर्जुन तिमिल्सिना, बासुदेव खतिवडा पनि राजनीतिक लबिङको आधारमा पछाडी नै रहेपनि बढुवा भएर अघि आउने दाउमा छन् ।यस्तै श्यामसिंह चौधरी र चौथो टोलीबाट चक्रराज जोशी र जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन् । गृहमन्त्री रमेश लेखकले उनीहरुलाई एसएसपी बढुवा गर्नैपर्ने अड्डी कसेर बसेको बताइएको छ ।

तर, आईजीपी दिपक थापा बरियतामा अघि रहेकामध्ये पनि अब्बल प्रहरी अधिकृतहरुलाई बढुवा गर्नुपर्ने पक्षमा छन् । जुनियरलाई अहिले बढुवा गर्दा प्रहरीभित्र ठूलो असन्तुष्टि प्रकट हुन्छ भन्ने चिन्तामा आईजीपी छन् ।अभिभावक हुनुपर्ने र न्याय गर्नुपर्ने गृहमन्त्री लेखकले नै जुनियरहरुलाई बढुवा गर्न दबाब दिंदा बरिष्ठता र कार्यक्षमतामा अब्बल अधिकृतहरुमाथि अन्याय हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट