Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

‘राजेश हमालसँग फिल्म खेल्न पाए कसले छोड्छ !’

‘राजेश हमालसँग फिल्म खेल्न पाए कसले छोड्छ !’

काठमाडौँ : पछिल्लो समय  म्युजिक  भिडियोबाट फिल्ममा भित्रिने थुप्रै अभिनेत्री छन् ।  तीमध्ये धेरैको  अनुभव छ– म्युजिक  भिडियोभन्दा फिल्म धेरै गाह्रो । ’ यस्तै अनुभव अभिनेत्री  सनिशा भट्टराईको पनि छ । उनी पनि म्युजिक भिडियोभन्दा फिल्म अभिनय गाह्रो हुने बताउँछिन् ।

‘म धेरै वर्ष म्युजिक भिडियोको अनुभव लिएर फिल्ममा भित्रिएको भए अन्य धेरै कुरा दाँज्न सक्थेँ,’ उनले भनिन्, ‘एक वर्षमा दर्जन म्युजिक भिडियो अभिनय नगर्दै फिल्ममा आएँ । अनुभव धेरै छैन ।’ फिल्ममा समय र मिहिनेत धेरै लाग्ने उनले अनुभव गरेकी छन् ।

सनिशाले गत वर्ष दसैँमा प्रदर्शित ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गरेकी हुन् । डेब्यु फिल्मबाटै उनले राम्रो चर्चा र सफलता हात पारिन् । उनी अभिनीत दोस्रो फिल्म ‘नरसिंहाः अवतार’ आगामी शुक्रबार (९ गते)बाट प्रदर्शनमा आउँदैछ ।

उनी यतिवेला यही फिल्मको प्रचार दौडमा छिन् । सोही सिलसिलामा  उनले फिल्म अभिनयबारे भनिन्, ‘फिल्मको बजेट धेरै हुन्छ । तर पनि वासरुम, चेन्जिङ रुम र प्राइभेसी जारो जस्तो कुरोमा महिला कलाकारलाई समस्या नै रहेछ ।’ ‘नरसिंहाः अवतार’ दीवाकर भट्टराईले निर्देशन गरेको फिल्म हो । फिल्ममा सनिशाको अलावा राजेश हमाल, राज कटुवाल, नीति शाहलगायतको मुख्य भूमिका छ ।

फिल्ममा उनी ‘कुसुम’ नामक एक युवतीको चरित्रमा देखिँदै छिन् । ‘मानिसका जीवन कति उतारचढावले भरिएको छ भन्ने कुरा मेरो चरित्रबाट थाहा पाउन सकिन्छ,’ उनले फिल्मबारे भनिन, ‘फिल्मको चरित्र मभन्दा भिन्न छ । त्यसैले अभिनय गर्न गाह्रो भयो ।’ चरित्रमार्फत फरक जीवन अनुभव गर्न पाएकोमा भने खुसी छिन् उनी ।

sanisha bhattarai (1)

‘१२ गाउँमा मेरो भूमिका सिम्पल र थोरै थियो । फिल्म अभिनय के हो त्यति अनुभव गर्न पाइनँ,’ उनले डेब्यु फिल्मबारे अनुभव साटिन् । ‘नरसिंहा अवतार’मा भने फिल्मको भूमिका च्यालेन्जिङ र धेरै गाह्रो भएको उनलाई लागेको छ । ‘सुरुमा अभिनय सक्दिनँजस्तो लागे पनि गर्दै जाँदा सहज भयो,’ उनले बताइन् ।

तर रोचक कुरा के भने ‘१२ गाउँ’ प्रदर्शनमा नआउँदै उनलाई ‘नरसिंहाः अवतार’ बाट अभिनयको प्रस्ताव आएको हो । उनले पनि कथावस्तु र फिल्म युनिट मन परेर यसलाई रोजेको बताइन् । आफूले चरित्र राम्रो पाएको र राजेश हमालसँग अभिनय गर्ने अवसर मिस गर्न नसकेर फिल्म रोजेको खुलाइन् ।

‘जसलाई बच्चैदेखि हेर्दै हुर्किएँ, उहाँसँग स्क्रिन सेयर गर्न पाउँदा कसले छोड्छ र,’ उनले भनिन्, ‘राजेश सरसँग अभिनय गर्न पाउनु मेरो भाग्य हो ।’ सुरुमा हमालसँग काम गर्न डर लागे पनि पछि सहज महसुस गरेको उनले बताइन् । हमालसँग अभिनयबारे धेरै कुरा सिक्न पाएकोमा उनी दंग छिन् ।

‘राजेश सर, धेरै सिनियर भए पनि सहज, सिम्पल, नजानेको सिकाउने र ठट्टा गरिरहने रमाइलो हुनुहुँदो रहेछ,’ उनले हमालबारे भनिन्, ‘फिल्मको एक दृश्यमा मैले राजेश सरलाई थर्काएकी छु ।’ हमालसँग स्क्रिन सेयर गरेकी उनी फिल्ममा जोडी भने अभिनेता राज कटुवालको बनेकी छन् ।नयाँ हुन् वा पुराना । हरेक कलाकारका लागि आफू अभिनीत फिल्मबारे चिन्ता हुन्छ । किनभने त्यसले आगामी यात्रामा ठुलो अर्थ राख्छ । उनले त यो फिल्मबाट बढी नै प्रेसर फिल गरेकी छन् ।

sanisha bhattarai (2)

‘पहिलो फिल्म सफल भए पनि दोस्रो फिल्मका लागि नसोचेको प्रेसर हुँदो रहेछ,’ उनी थप्छिन्, ‘फिल्म चल्ने र नचल्ने हाम्रो हातमा हुँदैन ।’ फिल्ममा आफूलगायत टिमले राम्रो काम गरेकाले सफल हुनेमा भने उनी विश्वस्त छिन् ।

  • अब सिक्ने अभिनय 

सनिशा सिकेर पूरै तयारी गरेर अभिनयमा भित्रिएकी कलाकार होइनन् । न त उनले यस विषयमा अध्ययन नै गरेकी छन् । कसरी म्युजिक भिडियो बन्छ भनेर थाहा नहुँदै उनले भिडियोमा अभिनय गर्न थालिन् । भिडियोमा खारिन नपाउँदै फिल्ममा प्रवेश गरिन् । अबका दिन यो तरिकाले अगाडि बढ्दा गाह्रो हुने उनले महसुस गरेकी छन् । त्यसैले अब अब सिक्नुपर्छ भन्ने उनलाई लागेको छ । अभिनय, मार्सल आर्ट लगायत सिकेर अगाडि बढ्ने उनले सोच बनाएकी छन् ।‘जति वेला भित्रिएँ, त्यो समय हलमा फिल्म हेरेको बाहेक अनुभव ममा थिएन,’ उनले भनिन्, ‘अहिलेसम्मको अभिनय अनुभवले सिक्नुपर्छ र यसो गर्दा सजिलो हुन्छ भन्ने फिल भयो ।’

sanisha bhattarai (3)

सिकेर अगाडि बढ्दा चरित्र निर्माण र अभिनयमा सहज हुने उनको बुझाइ हो । भनिन्, ‘जीवनमा सिकेर कहिल्यै सकिन्न । जति प्रोजेक्ट गर्दै गयो, सिक्ने र सुधार्ने चलिरहन्छ ।’ अगाडि बढ्ने हो भने सिक्न लगाउन नहुने उनी बताउँछिन् ।

हुन त फिल्ममा भित्रिएका धेरै नयाँ कलाकारहरू करिअर सुरु हुन नपाउँदै हराउँछन् । तर उनी भने निरन्तरता दिने सोचमा छिन् । त्यसकै आफूले जुन पायो त्यही प्रोजेक्ट गर्ने पक्षमा छैनन् । ‘अभिनयमा खारिनुपर्छ, राम्रो राम्रो प्रोजेक्ट हात पर्छ’, उनले भनिन् ।

आगामी दिनमा पनि छानेर, मानिसको जीवनसँग मेल खाने, प्रेरणा बन्ने फिल्मलाई मात्र प्राथमिकता दिने सोचमा छिन् उनी । नेपालमा धेरै फिल्म पुरुषप्रधान बनिरहेको बताउने उनी महिलाप्रधान फिल्म बनाउनुपर्नेमा जोड दिन्छिन् ।

उनलाई बलिउड अभिनेत्री आलिया भट्टको ‘गंगुबाई,’ ‘कंगनाको ‘मणिकर्णिकाः झाँसी की रानी’ जस्ता महिला चरित्र बलियो लागेको छ । ‘महिलाले दुःख पाएको, हिरो आएर बचाएको फिल्म धेरै बने, सबैले गरे छन्’, कुराकानीको बिट मार्दै भनिन्, ‘म अलि फरक भएर देखिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट