मुम्बई : सन् २००४ को रोमान्टिक फिल्म ‘हम तुम’मा सैफ अली खानको चरित्रलाई मानिसहरू अझै पनि सम्झन्छन् । तर सैफ यस फिल्मको लागि पहिलो रोजाइ थिएनन्। हालै निर्देशक कुणाल कोहलीले एक अन्तर्वार्तामा यो भूमिकाको लागि पहिलोपटक ऋतिक रोशन, आमिर खान र विवेक ओबेरोयलाई सम्पर्क गरिएको खुलासा गरेका हुन् ।
कोहलीले भने, ‘सबैभन्दा पहिले हामी ऋतिककहाँ गयौँ। म ऋतिकसँग साथी थिएँ। त्यसैले म पहिला उनीकहाँ गएँ । उनले स्क्रिप्ट पढेर भने, मलाई स्क्रिप्ट धेरै मन पर्यो, यो उत्कृष्ट छ। तर साथै उनले भने– मलाई लाग्दैन कि म यो भूमिका निर्वाह गर्न सक्षम हुनेछु।’
कोहलीका अनुसार ऋतिकले स्पष्ट रूपमा भनेका थिए कि उनी यो भूमिका खेल्न सक्दैनन् । ऋतिकको भनाई उद्धृत गर्दै उनले भने, ‘म अहिले ठिक मानसिक अवस्थामा छैन। के तपाईं एक वा दुई वर्ष पर्खन सक्नुहुन्छ ? मेरा केही फिल्महरू रिलिज भएपछि म यो हेर्नेछु। ऋतिकले यो पनि भने कि मेरा केही फिल्महरू रिलिज हुन लागेका छन् र मलाई थाहा छ कि ती चल्दैनन्। म अहिले धेरै खराब अवस्थामा छु।‘
त्यसपछि ऋतिकले यदि अरू कोही अभिनेता भेट्टाएको खण्डमा उसैलाई लिएर फिल्म बनाउन सुझाव दिएका थिए। ऋतिककै सुझाव अनुसार आमिर खानलाई पटकथा सुनाउने प्रयास गरियो, तर त्यतिबेला उनी रीना दत्तासँगको सम्बन्ध विच्छेदका कारण निराश थिए। उनले स्पष्ट रूपमा उनी स्क्रिप्ट सुन्न सक्ने अवस्थामा नरहेको बताए।
कोहलीका अनुसार यसपछि उनले विवेक ओबेरोयसँग कुरा गरे। उनले सुरुमा फिल्मको लागि हुन्छ भनेर डेट पनि दिए । तर पछि पटकथामा परिवर्तनको माग गर्न थाले। त्यसपछि आदित्य चोपडाले कोहलीलाई भने, ‘तिमी सैफ अली खानको बारेमा किन सोच्दैनौँ ?’ उनले
जवाफमा भने, ‘मैले ५ सेकेन्डमा नै फिल्मको हरेक दृश्यमा सैफको कल्पना गरेको थिएँ र यो राम्रो देखिनेछ भनेर भनेको थिएँ, तर मैले सोचे कि के तपाईं सैफसँग यो बनाउनुहुन्छ ? उनको कुनै पनि सोलो हिरो हिट फिल्म छैन।’ जसमा आदित्य चोपडाले आफूलाई सैफ अली खानमाथि विश्वास रहेको बताएका थिए ।
कोहलीका अनुसार ऋतिक र सुजैन फिल्म रिलिज भएको हप्ता ट्रायलको लागि आएका थिए। सुजैनलाई चलचित्र मन पर्यो । ऋतिकले पनि भने, ‘सैफले यो गरेकोमा म धेरै खुसी छु। उनी उत्तम विकल्प थिए, मभन्दा पनि राम्रो।’ अन्ततः ‘हम तुम’ हिट मात्र भएन, सैफले यस फिल्मको लागि राष्ट्रिय पुरस्कार पनि पाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij