Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित

कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित

काठमाडौँ : आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् । नेपाली टोलीका बाँकी सदस्य भने मंगलबार नै स्कटल्यान्डतर्फ प्रस्थान गरेका थिए ।तर, कक्षा १२ को परीक्षाका कारण कप्तान रोहित टोलीसँग प्रस्थान गरेका थिए । परीक्षा सकिएका कारण अब उनी शनिबार स्कटल्यान्ड प्रस्थान गर्ने जानकारी नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले दिए ।

नेपाली टोलीले आगामी जुन २ तारिखदेखि स्कटल्यान्डमा लिग–२ प्रतियोगिता खेल्दैछ । उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डका अतिरिक्त तेस्रो टोलीको रूपमा नेदरल्यान्ड्स रहेको छ । लिग–२ को जारी संस्करणमा नेपाली टोलीको अवस्था सन्तोषजनक छैन ।आठ टोलीको सहभागिता रहेको लिग–२ तालिकामा नेपाल ६ अंकसहित सबैभन्दा तल छ । हालसम्म १२ खेल खेलेको नेपाली टोलीले केवल दुई जित र आठ हारको नतिजा निकालेको छ । नेपाली टोलीको दुई खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

 497678014_1137460161743696_8316828364845745446_nआईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए ।लिग–२ को पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग जोडिएको थियो । उक्त शृङ्खलाको सुरुवाती चरणका खेलमा पनि नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

लिग–२ प्रतियोगिताको जारी संस्करणमा पनि हालसम्म नेपालको अवस्था निराशाजनक छ । स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा नेपाली टोली नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लन लागेको हो । स्टुअर्ट लको प्रमुख प्रशिक्षकत्वमा नेपालले पहिलो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।स्कटल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

लिग–२ शृङ्खलापछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्नेछ । टी–२० शृङ्खलाका लागि नेपाली टोलीमा रुपेशकुमार सिंह, लोकेश बम र किरण ठगुन्नालाई पनि समावेश गरिएको छ ।हाल लिग–२ तालिकामा १९ खेल खेलेको नेदरल्यान्ड्स २६ अंकसहित पहिलो, १६ खेल खेलेको अमेरिका २२ अंकसहित दोस्रो, १६ खेल खेलेको क्यानडा २० अंकसहित तेस्रो, १५ खेल खेलेको स्कटल्यान्ड १८ अंकसहित चौथो, १६ खेल खेलेको ओमान १८ अंकसहित पाँचौँ, २० खेल सकेको नामिबिया १४ अंकसहित छैटौँ र १६ खेल खेलेको यूएई ६ अंकसहित सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट