काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–७ स्थित फुटुङमा प्रहरीले नक्कली कागजात बनाउने कारखानामा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार छापा मारेर ३ सय ५५ थान स्ट्याम्प बरामद गरेको बिहीबार जानकारी दिएको छ ।
स्मार्ट लाइसेन्स, विवाह दर्ता र अधिकांश सरकारी कार्यालयका कागजात त्यहाँ छापिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘सो कारखाना सञ्चालन गर्नेले बनाउने नसक्ने कागजात नै छैन ।’
फर्जी कागजात बनाउने धन्दाको मुख्य योजनाकार ४६ वर्षीय अन्जनी बयलकोटी हुन् । गोरखाको भिमसेनथापा गाउँपालिका–१ घर भएर तारकेश्वरमा बस्ने बयलकोटीसँगै मकवानपुर घर भएकी २३ वर्षीया अन्जु खत्री र ओखलढुंगाका २८ वर्षीय निर्मल खड्का पनि पक्राउ परेका छन् । बयलकोटीले सञ्चालन गरेको कारखानामा खड्काले डिजाइन र खत्रीले कागजात सम्पादनको काम गर्दै आएका थिए । उनीहरूलाई बयलकोटीले १५–२० हजार तलबमा काम लगाएका हुन् ।
बयलकोटी यसअघि बलात्कार मुद्दामा जेल बसेर निस्केको पाइएको छ । काठमाडौँको गोङ्गबुमा एक जना महिलाको डेरामा गएर २०६५ पुसमा उनले डर त्रास देखाएर पटक–पटक बलात्कार गरेको र लुटपाट गरेको मुद्दामा जेल परेका थिए । बलात्कार गरेर उनले सिक्री, बाला र औँठी समेत लुटेर भागेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो । ४ वर्ष जेल बसेर छुटेपछि उनी फर्जी कागजात बनाउने धन्दामा लागेका थिए ।
फर्जी कागजात तयार गर्ने कारखाना आफैँले खोल्नुअघि उनले ‘एजेन्ट’ भएर काम गरेको अनुसन्धानमा संलग्न डीएसपी रोशन खड्काले बताए । उनले भने, ‘२०७६ बाट बयलकोटी करिब ४ वर्ष फर्जी कागजात बनाउने काममा एजेन्टको भूमिकामा देखिएका छन् ।’
२०८० बाट उनी आफैँले प्रिन्टर लगायतका मेशिन खरिद गरेर कारखाना सुरु गरेका हुन् । डीएसपी खड्काले भने, ‘बयलकोटी पछिल्लो ८ वर्षयता फर्जी कागजात बनाउने काममा नै संलग्न रहेको हाम्रो अनुसन्धानबाट देखिएको छ ।’
उनीहरूले ठाउँ परिवर्तन गरेर कारखाना सारिरहन्थे । फुटुङमा भर्खर कार्यालय सारेको अवस्थामा प्रहरीले त्यसबारे सुराक पाएको थियो । १० दिनको अनुसन्धानपछि प्रहरी कारखानासम्म पुग्न सफल भएको हो ।
२५ सय सम्ममा बेच्थे कागजात
विदेश जानेहरू र अफिसियल प्रयोजनका लागि सर्टिफिकेट लगायतका कागजात चाहिनेहरुलाई उनीहरूले कागजात तयार गरेर डेलिभरी दिन्थे । एजेन्टको रूपमा काम गर्दा कहाँ र कस्ता मानिसलाई फर्जी कागजात बेच्न सकिन्छ भनेर अन्जनी जानकार थिए ।
सम्पर्क भएका मानिसहरूमार्फत कागजात अर्डर लिने र पठाओमार्फत उनले डेलिभरी पठाउने गरेका थिए । एउटा कागजात बराबर २५ सय सम्म लिएर उनले बिक्री गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
विदेश जाने र त्यहाँ बसिरहेकाहरूलाई उनीहरूले सवारी चालक अनुमति पत्र पनि बनाएर डेलिभरी दिने गरेका थिए । डिपेन्डेन्ट भिसा प्रयोजनको लागी उनीहरूले म्यारिज सर्टिफिकेट पनि बनाइदिने गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले भने, ‘आरोपीहरूले विवाह दर्ता र लालपुर्जा समेत बनाउने गरेको भेटिएको छ ।’उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij