काठमाडौँ : मकवानपुरको हेटौंडामा सञ्चालित एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले नेपाली ब्राण्डको सवारी साधनमा लाग्ने ब्याट्री उत्पादन गरिरहेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी यो उद्योगले गाडीको ब्याट्री उत्पादन गरी नेपाली बजारसँगै भारतमा समेत निर्यात गरिरहेको छ ।
नेपालको अटो बजारमा उच्च माग रहेको सवारी साधनको ब्याट्री स्वदेशमै उत्पादन गरी बजारको माग पूर्ति गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । नेपालमा सवारी साधनमात्रै नभएर सवारी साधनमा लाग्ने अटो कम्पोनेन्टसमेत विदेशबाटै निर्यात हुने गरेको छ ।
एसटीसी गु्रपले अब नेपालमा उत्पादन गरी अटो कम्पोनेन्टभित्र सवारी साधनको ब्याट्रीमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेर उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीले बताए ।
उनका अनुसार नेपालमा गुड्ने सवारी साधनमा लाग्ने ब्याट्री अब विदेशमा निर्मित नभई स्वदेशी उत्पादनकै प्रयोग गराउने उद्देश्य कम्पनीको छ । उनले सवारी साधनको ब्याट्री उत्पादन गरी नेपालमा हरेक वर्ष आयात हुने अटो कम्पोनेन्टलाई कम गरी निर्यात गर्ने योजना रहेको बताए ।
‘स्वदेशी लगानीमा नेपाली ब्याट्री उत्पादन गरिरहेका छौँ । ब्याट्री उद्योगबाट कम्पनीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदानसँगै रोजगारी सिर्जना गरेका छौँ,’ कम्पनीका प्रबन्ध निर्देशक उप्रेतीले भने, ‘उद्योगबाट उत्पादन भएको ब्याट्रीले आन्तरिक बजारको मागलाई सम्बोधन गर्दै आगामी दिनमा आयात प्रतिस्थापन गर्ने र विदेश निर्यातसम्मको लक्ष्य छ ।’
एसटीसी गु्रपले स्वदेशमै ब्याट्री उत्पादन गरी मुलुकभित्रै खपत बढाउनका साथै निर्यातसमेत गरिरहेको छ । निर्देशक उप्रेतीका अनुसार कम्पनीले २ पाङ्ग्रे, चारपाङ्ग्रे र विद्युतीय रिक्साका लागि आवश्यक पर्ने ब्याट्री उत्पादन भइरहेको छ । उद्योगको क्षमता मासिक १ लाख ५० हजार ब्याट्री उत्पादन गर्ने रहेको उनको भनाइ छ ।
उद्योगले अहिले दुईपाङ्ग्रे सावरी साधनमा प्रयोग हुने ब्याट्री मासिक २५ हजार उत्पादन गरिरहेको र १ वर्षमा चारपाङ्ग्रे सवारी साधनका करिब ५० हजार ब्याट्री बिक्री गरिसकेको निर्देशक उप्रेतीको भनाइ छ ।
उप्रेतीका अनुसार उद्योगले २०० भन्दा बढी डिलर नेटवर्क विस्तार गरेर देशका ७७ जिल्लामा बिक्री वितरण गरिरहेको छ । पछिल्लो समय भारतका केही कम्पनीलाई उद्योगमा उत्पादित ब्याट्री निर्यात गर्न सुरु गरेको उनले बताए । उनले भने, ‘अहिले भारतका दुई वटा कम्पनीसँगको सहकार्यमा भारतमा निर्यात थालनी गरेका छौँ ।’
प्रबन्ध निर्देशक उप्रेतीले नेपाल सरकारले नेपालमा उत्पादित ब्याट्रीको गुणस्तर चिह्न नदिँदा र ब्याट्रीको स्पष्ट मापदण्ड नबनाउँदा विदेश निर्यातमा समस्या रहेको गुनासो गरे । उनले भने, ‘गुणस्तर चिह्न नदिँदा भारत लगायतका देशमा ब्याट्री निर्यातमा समस्या छ । भारतबाट ब्याट्रीको अर्डर आए पनि तत्कालै निर्यात हुने वातावरण छैन । भारतमा प्रदूषण विभागबाट गुणस्तर स्वीकृत भएर सर्टिफिकेसन दिएपछि मात्रै निर्यात गर्न सक्ने अवस्था छ ।’
उनका अनुसार भारतको कम्पनीले बीएसआइ र एआरआई सर्टिफिकेट पाइसकेको छ । तर नेपाल स्ट्यान्डर्ड लागु गर्न भने नेपाल सरकारले नचाहेको भन्दै उनले गुनासो गरे । उनले भने, ‘सरकारले गुणस्तर चिह्न दिन ब्याट्री टेष्ट गर्नुपर्ने मेसिन हामीले किनेर दिनुपर्ने अवस्था छ । सरकारसँग त्यस्तो मेसिनसमेत छैन ।’
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा हरेक महिना १ अर्ब रुपैयाँको ब्याट्री खपत हुने गरेको छ । प्रायः सबै ब्याट्री विदेशबाटै आयात हुने गरेको छ । सरकारले नेपालमा उद्योग स्थापनाका लागि सहज वातावरण नबनाएको व्यवसायीको गुनासो छ ।
अहिले नेपालमा दर्जनभन्दा बढी विदेशी ब्रान्डका ब्याट्री बिक्री वितरण भइरहेका छन् । एसटीसी इनर्जी र एसटीसी राइड ब्रान्डको रूपमा बजारमा ब्याट्री बिक्री भइरहेको छ । ग्रुपले ब्याट्री उद्योगमा मात्रै ७५ जनालाई रोजगारी दिएको छ ।
करिब २१ रोपनी क्षेत्रफलमा स्थापित उद्योगले एक वर्षदेखि नियमित ब्याट्री उत्पादन गरिरहेको छ । उद्योगले दुई पाङ्ग्रेमा मोटरसाइकल तथा स्कुटर, तीन पाङ्ग्रेमा ई–रिक्सासँगै चार पाङ्ग्रेमा कार, भ्यान, जिप लगायत सबै खाले कमर्सियल गाडीको ब्याट्री उत्पादन गरिरहेको छ ।
त्यस्तै सवारी साधनबाहेक कम्पनीले इन्भर्टरको ब्याट्री पनि उत्पादन गरिरहेको छ भने आगामी दिनमा विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री पनि उत्पादन सुरु गर्ने योजना बनाएको निर्देशक उप्रेतीले बताए ।
ग्रुपका प्रबन्ध निर्देशक उप्रेतीका अनुसार उद्योग स्थापनाका लागि ५० करोडभन्दा बढी लगानी पुगेको छ । उनले उद्योगका लागि २१ रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिइएको बताए । उनका अनुसार उद्योगमा विगतमा म्यानुअल रूपमा काम गरी ब्याट्री उत्पादन गर्ने गरिएको भए पनि पछिल्लो समय अत्याधुनिक मेसिनबाटै उत्पादन भइरहेको छ ।
उद्योगमा प्रयोग भएका मेसिन चीन, जापान र भारतबाट ल्याइएको निर्देशक उप्रेतीले बताए । उनले उद्योगले उत्पादन गरेको ब्याट्री एसटीसी राइड र एसटीसी इनर्जी गरी दुई वटा ब्रान्ड नाममा ब्याट्री बिक्री गरिरहेको उल्लेख गरे ।
उत्पादन मासिक ५० हजार वटा हाराहारी रहे पनि यो प्लान्टमा १८ लाखसम्म ब्याट्री उत्पादन गर्न सक्ने क्षमता रहेको उप्रेतीले जानकारी दिए । उद्योगले पछिल्लो समय वर्षमा ३ देखि ४ लाख युनिट ब्याट्री बजारमा पठाउने लक्ष्य राखेको छ ।
कम्पनीले ब्याट्री बनाउँदा अहिले ८० प्रतिशतसम्म कच्चा पदार्थ स्थानीयस्तरमै उपलब्ध हुने गरेको जनाएको छ । निर्देशक उप्रेतीका अनुसार ब्याट्रीमा प्रयोग हुने एसिड र बाहिरी कभरमात्रै विदेशबाट ल्याएर प्रयोग गरेको छ । अन्य प्रायः सबै कच्चा पदार्थमा नेपालकै स्थानीय कच्चा पदार्थ प्रयोग गरिएको उनले दाबी गरे ।उप्रेतीले भने, ‘अहिले ब्याट्रीको कन्टेनर नेपालमा बनाउन सम्भव छैन । धेरै लागत लाग्छ ।’
निर्देशक उप्रेतीका अनुसार ब्याट्री उद्योगमा सबै काम अटोमेसनमा हुन्छ । सबै काम अटोमेसनमा हुने हुँदा कम कामदार राखेर काम भइरहेको उनको भनाइ छ । उनका अनुसार ब्याट्री लिड प्लेट्सहरु पनि उद्योगमै निर्माण हुन्छ ।
कम्पनीले ब्याट्रीलाई गुणस्तरीय बनाउन प्लान्ट हेडमा भारतमा एम्म्रोन ब्याट्री कम्पनीमा ३८ वर्ष काम गरेका सुन्दर मूर्तिलाई ल्याएर काम गरिरहेको निर्देशक उप्रेती बताउँछन् । कम्पनीले उत्पादन गरेको ब्याट्री गुणस्तरीय हुने उनको दाबी छ ।
निर्देशक उप्रेतीले एसटीसी उद्योगले उत्पादन गरेको ब्याट्री आयातितभन्दा ४० प्रतिशत सस्तोमा उपलब्ध गराएको बताए । उनले भने, ‘विदेशबाट आयात गरेको नाम चलेकै ब्राण्डको जस्तै गुणस्तर र उनीहरूले दिएकोभन्दा धेरै अर्थात् ३६ महिनासम्मको वारेन्टी दिएका छौँ । गुणस्तरमा कुनै कमी छैन ।’
उनले आयातित ब्रान्डको तुलनामा ४०–५० प्रतिशतले नै कम मूल्यमा ब्याट्री बिक्री गरिरहेको बताए । कम्पनीले दुईपाङ्ग्रे र चारपाङ्ग्रेमा ३६ महिना, इन्भर्टरमा ६० महिना र विद्युतीय ३ पाङ्ग्रेमा लाग्ने ब्याट्रीमा १२ महिना वारेन्टी दिएको उनको भनाइ छ । कम्पनीले तोकेको समयभित्र ब्याट्रीमा समस्या भए पूर्ण रूपमा नयाँ ब्याट्री दिने गरेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij