लन्डन : नेपाली कला, संस्कृति, भाषा साहित्य र चलचित्र उद्योगलाई विश्वव्यापी प्रवर्द्धन गर्ने लक्ष्यसहित लन्डनमा आयोजना हुन गइरहेको तेस्रो नेपाली फिल्म महोत्सवका लागि विश्वभरबाट ३९८ वटा आवेदन प्राप्त भएको आईका अध्यक्ष विकास देवकोटाले जनाए ।
महोत्सवमा सहभागी हुन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्ने जस्ता सर्त निर्धारण गरिएको थियो । धेरै फिल्म लिन नसक्ने भएपछि आवेदन बन्द गरिएको देवकोटाले भने ।
यही मे १८ सुरु हुने उक्त नेपाली फिल्म महोत्सव ३१ मे समापन हुनेछ । आवेदन परेका मध्ये जुरी (निर्णायक)ले १० उत्कृष्ट चलचित्र छनोट गर्नेछन् जसमा ३ वटा नेपालमै निर्माण भएका चलचित्र हुनेछन्। चयन गरिएका चलचित्रहरू यूकेका विभिन्न शहर र डिजिटल प्लेटफर्महरूमा समेत प्रदर्शन गरिने थर्ड आईले जनाएको छ।थर्ड आईका अध्यक्ष देवकोटाले महोत्सव नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा टेवा पुग्ने ऐतिहासिक अवसर हुने बताए ।
‘हाम्रो नेपाली समाज, संस्कृति र मुलुकको कथा बोकेका चलचित्रहरू लन्डनमा प्रस्तुत गर्दैछौं’- देवकोटाले भने, ‘यसले नेपाली चलचित्र उद्योगको विकास र बिस्तार मात्र होइन, नेपाली भाषा र सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
महोत्सवको अर्को उद्देश्य प्रवासी नेपाली समुदायलाई समकालीन नेपाली चलचित्रहरूको प्रवृत्ति, विषयवस्तु र प्रस्तुतीकरणको शैलीबारे अवगत गराउनु रहेको पनि उनको भनाइ छ । ‘साथै नयाँ दृष्टिकोण बोकेका चलचित्रहरूमार्फत अन्तर्राष्ट्रिय दर्शकसम्म नेपाली चलचित्रको पहुँच विस्तार गर्ने उद्देश्य लिइएको छ’-देवकोटाले भने ।
ग्रीनफोर्ड टाउन हलमा हुने समापन समारोहमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ। सो अवसरमा कलाकारलाई नेपाली चलचित्रमा उनीहरुले पुर्याएको योगदानको कदरस्वरूप सम्मान पनि गरिनेछ।
‘यो महोत्सव केवल आजको उत्सव होइन । यो त भोलिका सर्जकहरूका लागि प्रेरणाको स्रोत हो जसले नेपाली चलचित्रमा आफ्नो भविष्य खोजिरहेका छन्’ आयोजकहरू भन्छन्, ‘अभिनेता, निर्देशक वा निर्माता बन्न चाहने नयाँ पुस्ताका लागि यो महोत्सव एउटा सशक्त प्लेटफर्म हो । आउनुहोस्, सँगै हातेमालो गरेर नेपाली चलचित्रको भविष्य उज्यालो बनाऔँ ।’
फिल्म महोत्सव आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का, रविन भारतीलगायत छन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij