नुवाकोट : नुवाकोटको ग्रामीण भेग शिवपुरीमा बेरोजगारलाई सिपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत सिपमूलक प्रशिक्षण र रोजगारसमेत दिइएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँवासीलाई सिपमूलक प्रशिक्षण र निश्चित अवधिको रोजगारीसमेत प्रदान गरिएको शिवपुरी गाँउपालिकाले जनाएको छ ।
युवा रोजगारीका लागि रूपान्तरण अन्तर्गत शिवपुरी गाँउपालिकाको रोजगार सेवा केन्द्रबाट सञ्चालित प्रशिक्षण तथा एक सय दिनको रोजगारी दिइएको गाँउपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम अन्तर्गत बेरोजगार ७२ जनालाई एक सय दिनको रोजगारी प्रदान गरिएको छ । उनीहरूले शिवपुरीको विभिन्न बाटोघाटो, पाटी पौवा, सार्वजनिक स्थल तथा सामाजिक स्थानमा श्रम गरेर रोजगारी पाएको अध्यक्ष थपलियाले वताउनुभयो ।यसका साथै कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी सम्बन्धी ५० दिनको सिपमूलक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रमाणपत्र प्रदान गर्दै सिपलाई स्वरोजगारको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमअन्तर्गत ३६ जना सहभागीलाई कार्पेन्टर र मेसन तालिम प्रदान गरिएको हो । सहभागीहरूलाई गाँउपालिका अध्यक्ष थपलियाका साथै, उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साललगायतले प्रमाणपत्र प्रदान गर्नुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij