Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त

अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त

काठमाडौँ : भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कूल नौ स्थानहरूलाई लक्षित गरेको जानकारी दिएको हो ।पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले नियन्त्रण रेखामा भारतको हवाई आक्रमण र गोलाबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन् ।

यसैबिच, एक वरिष्ठ भारतीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै भएको गोलीबारीमा भारतीय पक्षमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको बताइन् ।

यो अपरेशनले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको थियो । त्यहाँबाट भारतमा आतंकवादी आक्रमणको योजना बनाइएको र कार्यान्वयन गरिएको भारतको दाबी छ ।यसैबिच, पाकिस्तानले भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको छ । भारतले यस दाबीमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

मारिनेमा मसूद अजहरका नजिकका आफन्त

आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) ले भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ ।

यस सम्बन्धमा, जेईएमले बुधबार एक विज्ञप्ति जारी गर्दै मृतकहरूमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच बालबालिका समावेश रहेको बताएको छ ।त्यस्तै, संगठनले अजहरका तीन नजिकका सहयोगीहरू र ती सहयोगीहरूमध्ये एककी आमा आक्रमणमा मारिएका थिए ।विज्ञप्ति अनुसार पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा अजहरका आफन्तहरूको मृत्यु भएको थियो ।

फेब्रुअरी २०१९ मा, जेईएमले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij