काठमाडौँ : शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को मंगलबार प्रिमियर गरिएको छ । मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा आयोजित भब्य प्रिमिएरमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि नेपाली मुलकी बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालगायतसम्मको उपस्थिति थियो ।
फिल्मकर्मी, रंगपत्रकार र साहित्यकारको समेत बाक्लो उपस्थिति रहेको प्रिमियरमा मगर समुदायको संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरियो । अधिकांशले प्रिमियरमा चलचित्र मन परेको प्रतिक्रिया दिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको फिल्म ‘जार’ पूर्ण मौलिक बनेको बताए । उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न नयाँ पुस्तालाई फिल्मले सघाउने धारणा राखे ।
सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्णमौलिक फिल्म लागेको बताए । राम्रो काम गरेकोमा जार टिमलाई बधाई दिँदै उनले व्यावसायिक सफलताका लागि शुभकामना दिए ।
अभिनेत्री मनीषा कोइरालाले ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो ।’ फिल्मले इतिहास र साहित्यलाई जीवन्त बनाएको उनको धारणा रहेका छ ।
नेतृ हिसिला यामीले ‘जार’ अहिलेको समसामयिक सन्दर्भको सशक्त फिल्म भएको बताइन् । सरकारमा रहेकाहरूले यो फिल्म हेरे केही कुरा सिक्न मिल्ने उनको सुझाव थियो ।
_QMduMXo4wT.jpg)
यस्तै, अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्त्वपूर्ण पाइला भएको बताए ।फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही तथा गीताञ्जली थापालगायतको अभिनय छ ।
प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि देखेको सपना अहिले पुरा भएको बताए । उनले जारको जस्तो भूमिका हरेक कलाकारलाई लोभ हुने धारणा राखे ।
_i5eEMBLAwL.jpg)
अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।१८०० को दशकको वास्तविक घटनामा आधारित फिल्म २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको हो । फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
_SvkFYrKZuh.jpg)
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन् ।
सरवानन इलावार्सुको छायाङ्कन, अखिलेश राईको सम्पादन फिल्ममा छ । ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।
_wjkzuylP35.jpg)
_y1NJUBGwTO.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij