काठमाडौँ : भारतस्थित नेपाली दूतावासले भारतको उडिसा राज्यस्थित किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे त्यहाँको विश्वविद्यालयसँग जानकारी लिएको छ । शुक्रबार बिहान किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको दूतावासले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । किटमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीय नेपाली विद्यार्थी प्रिसा साहको शव होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थियो ।
घटनाको बारेमा जानकारी पाउने बित्तिकै दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क एवं समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाली दूतावासले सो शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’
नेपाली राजदूत डा.शङ्कर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेका छन् । राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको समेत उनले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij