Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चितवन : चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवं पिछडिएका जातजाति, उक्त बाहुल्य सङ्ख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार यस कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गत आवमा ३० र चालु आवमा २० जना युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो । उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको राप्ती नगरपालिकाका र मकवानपुरको राकसिराङ गाउँपालिकाका युवालाई यस कार्यक्रममा समेटेका छौँ ।” राप्ती नगरपालिकाको कोर वाङ्गसेलिङ्ग र परेवाकोटका युवा समेटिएको उहाँले जानकारी दिनुभयो । चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गरिएको हो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति रु एक लाख नबढाई ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ । चालु आवमा ४४ युवाको आवेदन परेकामा तीमध्ये छनोट गरेर कार्यविधिमा परेका युवालाई यस कार्यक्रममा जोडिएको छ । यस कार्यक्रमका लागि अन्य तह र कार्यक्रमबाट दोहोरो सुविधा नलिएका समूहलाई यस कार्यक्रममा सहभागी गराइएको कँडेलले बताउनुभयो ।

कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ । यस कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij