Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै

पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै

सेन्ट पिटर्स : पोप फ्रान्सिसलाई शनिबार अन्तिम बिदाइ गरिँदैछ। उनको अन्त्येष्टिमा भाग लिन ठूलो संख्यामा मानिसहरू सेन्ट पिटर्स स्क्वायर पुगिरहेका छन्। पोप फ्रान्सिसको अन्त्येष्टिको समय नजिकिँदै जाँदा, सेन्ट पिटर्स स्क्वायर पुग्ने मानिसहरूको संख्या निरन्तर बढ्दै गएको छ।

८८ वर्षीय पोप फ्रान्सिसको स्थानीय समयानुसार सोमबार बिहान ७स्३५ बजे निधन भएको थियो । गत महिना उनी पाँच सातासम्म अस्पतालमा भर्ना भएका थिए। सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा निमोनिया भएको थियो।

रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए। सन् १९३६ मा अर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो। उनी जेजूइट बने र ब्वेनोस आइरिसको आर्चविशपको पदमा पुगे। सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य निम्त्याएको थियो।

साधारण जीवनशैलीका निम्ति उनको प्रशंसा हुने गर्थ्यो। उनलाई चर्चको उदारवादी खेमामा रहेको मानिन्थ्यो। सम्बन्धविच्छेद तथा समलिङ्गी विवाहजस्ता विषयमा उनले भ्याटिकनको आवाजलाई केही नरम बनाइदिएका थिए। उनले अरू धर्मका अगुवाहरूसँग पनि सम्पर्क बनाएका थिए। तर चर्चका परम्परागत सिकाइलाई उनले परिवर्तन गरेनन्।

उनको कार्यकालमा चर्चविरुद्ध लागेका बालयौनदुराचारका आरोपले प्रमुखता पाए। उनले ढाकछोपका विरुद्ध ठोस कारबाहीको आह्वान गरे तर आलोचकहरूले चाहिँ बालयौनदुराचारी पादरीहरूबारे जानकारी नदिने विसपहरूलाई सजाय दिन पर्याप्त कदम नचालेको भनेर उनको आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij