एजेन्सी : भारतको जम्मू कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणबाट एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको मृत्यु भएको छ।
सन् २०१९ को पुलवामा आक्रमणपछि भारतको जम्मू-कश्मीरमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी आक्रमण हो।भारतीय सञ्चार माध्यमले २६ जनाभन्दा बढीको मृत्यु भएको बताइरहँदा प्रशासनले भने १६ जनाको पुष्टि गरेको छ। यद्यपि प्रशासनको मृतकको संख्या बढ्न सक्ने बताएको छ।
नेपालका सन्दीप न्यौपाने र युएईका उद्वानी प्रदीप कुमारको पनि मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ। त्यसबाहेक अन्य सबै भारतभित्रकै आन्तरिक पर्यटक छन्।घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टका अनुसार बन्दुकधारीहरूले एक पर्यटकलाई उनको नाम सोधेपछि टाउकोमा गोली हानेका थिए।
यसपछि उनीहरूले अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको समाचारमा उल्लेख छ। यस क्रममा करिब ५० राउन्ड गोली चलाइएको थियो। आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।
घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि, सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।
आक्रमण चार जना बन्दुकधारीले गरेको बताइएको छ। जसमध्ये तीन जना पाकिस्तानी नागरिक र एक जना स्थानीय कश्मीरी भएको भारतीय मिडियाले खबर लेखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij