दुबई : नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक दुबईको क्रिक पार्कमा आयोजना गरिएको ‘नेपाल फेस्टिभल-२०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा अप्रिल २० का दिन सम्पन्न उत्सवले युएईमा बसोबास गर्ने नेपाली समुदायबीच एकताको सन्देशका साथै नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न उल्लेखनीय भूमिका खेलेको गैरआवासीय नेपाली संघ यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्व र समन्वयमा, गैरआवासीय नेपाली संघ, युएई, नेपाली समाज युएई, तथा युएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको थियो।
मन्त्री पौडेलले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको देश भएको बताउँदै नेपाली संस्कृति, भाषा, कला, संगीत र पर्यटनलाई विश्वसामु चिनाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे । उनले विदेशी नागरिकहरुलाई नेपाल भ्रमणको आह्वान गर्दै, पर्यटन मार्फत मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्याउन सकिने बताए ।
यस्तै, नेपाल–युएई सम्बन्ध थप प्रगाढ बनाउने गरी स्वास्थ्य, शिक्षा, कृषि, व्यापार र लगानीका क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको भन्दै मन्त्री पौडेलले द्विपक्षीय सहकार्यमा जोड दिए।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल फेस्टिवलले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको भन्दै सांस्कृतिक कूटनीतिका माध्यमबाट नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पु-याएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युएईस्थित नेपाली समुदायलाई नेपालको समृद्धिमा भूमिका निर्वाह गर्न आग्रह गरे भने, एनआरएनए युएईका अध्यक्ष विकास शाहीले सबैलाई सफल आयोजनाको लागि आभार प्रकट गरे।
कार्यक्रममा नेपालको परम्परागत झाँकी, नृत्य, तथा नेपालबाट आएको सांगीतिक समूह सुरसुधासहित ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, नेपाली संस्कृति झल्काउने ५० वटा स्टलहरूमा नेपाली खाना, हस्तकला, पर्यटन सामग्री आदि प्रदर्शन गरिएका थिए।
फेस्टिवलमा युएईका उच्च पदाधिकारी, विदेशी कूटनीतिज्ञ, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत नागरिकहरु तथा नेपाली समुदाय सहित करिब ४० हजार दर्शकहरूको उपस्थिति रहेको नेपाली राजदूतावास, अबुधाबीले एक विज्ञप्तिमार्फत जनाएको छ। कार्यक्रम विहान १०:०० बजे सुरू भई राति १०:०० बजेसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रमको सफलतामा योगदान पुर्याउने सम्पूर्ण संघसंस्था, स्वयंसेवक, कलाकार तथा नेपाली समुदायप्रति दूतावासले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij