परासी : पूर्वी र पश्चिम नवलपरासीका चार स्थानमा सवारी साधन रोकेर दाउन्ने सडक खण्डको विस्तारको काम अघि बढाउन लागिएको छ। बुटवल –नारायणढ सडक खण्डको दाउन्ने क्षेत्रमा दैनिक ७ घण्टासम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। चैत २७ गते बुधबारदेखि वैशाख १५ गतेसम्म २० दिन दिउँसो र रातिको समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको हो।
आयोजना निर्देशनालय(एडीबी)ले सवारी साधन रोकिने स्थानका बारेमा निकालेको सूचनाअनुसार बुटवलदेखि नारायणगढतर्फ जाने मालवाहक सवारी साधन (ट्रक, लरी, टिपर, ट्यांकर लगायत) पश्चिम नवलपरासीको सुनवलस्थित ज्यामिरे र भैरहवा हुँदै नारायणगढ जाने सवारी साधनलाई हकुईमा रोकिने छ। यात्रुवाहक सवारी साधन (बस, मिनी बस, माइक्रो बस र साना सवारी साधनलगायत)लाई बर्दघाटको चिसापानीमा रोकिने छ।
त्यसैगरी नारायणगढदेखि बुटवलतर्फ जाने मालवाहक सवारी साधनहरु चोरमारादेखि अरुणखोलासम्म रोकिने छन् भने यात्रुवाहक सवारी साधनहरु होङ्सी सिमेन्ट गेटदेखि दुम्किबास बजारसम्म रोकिने छन्। दाउन्ने सडक खण्डमा चैत २७ गतेदेखि ३१ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच घण्टा र २०८२ वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सात घण्टा सवारी साधन रोकेर सडक विस्तार हुँदै छ।
दाउन्ने सडक खण्डको १३ किलोमिटरको दूरी पार गर्न ८ देखि १० घण्टासम्म लाग्ने गरेपछि सवारी साधन रोकेर त्यस क्षेत्रमा सडक विस्तारको काम गर्न लागिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। सडक बन्दको समयमा एम्बुलेन्स, दमकल, शव बहानसहित अत्यावश्यकका सवारीसाधन भने सञ्चालन हुने छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij