काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए । उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सक्ने विश्वबाट आउने पर्यटकहरूले नेपालको रसस्वादन गर्न सक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्न सक्ने बताए । सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री पाण्डे भने, हाम्रो विविधतापूर्ण संस्कृति छ । यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ । त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ । हिमालदेखि समुन्द्रको सबैभन्दा होचो सतह, जम्मा ६०-७० मिटर सतहमा भएको केचन कवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडीबुटी, जङ्गल जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ । विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यसको हामीले ग्लोबल एड्भोकेसी गर्नुपर्नेछ ।’
उनले थप भने, यसको विश्वव्यापी प्रचार र ब्राण्डिङ गर्नुपर्नेछ । त्यसो हुन सके संसारभरका मानिसहरू यहाँ आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुने र यसको रस्वादन गर्ने काम गर्न सक्छन् । हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरू छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरू छन् । यो अभौतिक सम्पदा, भौतिक र अभौतिक सम्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा लिएर जानुपर्नेछ ।’
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरू पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij