Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

दाउन्नेमा यातायात रोकेर सडक निर्माण गर्ने तयारी

दाउन्नेमा यातायात रोकेर सडक निर्माण गर्ने तयारी

नवलपुर : नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा यातायात सञ्चालनमा रोक लगाएर सडक निर्माणको काम गर्ने तयारी गरेको छ । दाउन्ने खण्डमा यातायात सञ्चालनकै अवस्थामा निर्माणको काम अघि बढाउँदा जामको समस्या झेल्नु परेको र निर्माणको काम समेत सुस्त भएकाले यातायात सञ्चालनमा रोक लगाएर सडक निर्माणको तयारी गरिएको नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।

चैत २७ गतेदेखि चैत ३१ गतेसम्म दिउसो ११ बजेदेखि ३ बजेसम्म र वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन रोकेर सडक निर्माणको काम गर्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । दिउसो यातायात रोकेर खाल्डाखुल्डी पुर्ने, सम्माउने लगायतका काम गर्ने र राति पहाड काट्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

अहिले दाउन्नेमा खाल्डाखुल्डी धेरै परेको र साँघुरा घुम्तीहरूका कारण जामको समस्या बढेकाले यात्रुलाई सास्ती भएकाले यातायात सञ्चालन रोकेरै छिटो काम गर्न लागिएको उहाँको भनाई रहेको छ । ‘ बाटो मर्मत नहुँदा धेरै जाम हुने गरेको छ, त्यसलाई सम्माउने ,साँघुरा घुम्तीहरूलाई मिलाउने र यात्रा सहज बनाउन यातायात सञ्चालन रोक्न लागिएको हो’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।

दाउन्ने खण्डमा एकतर्फको निर्माणको काम, सडक मर्मत नहुँदाको खाल्डाखुल्डी र साँघुरो बाटोमा सवारी बिग्रिँदा दिनहुँ जसो घण्टौँ जाम हुने गरेको छ । दुवै तर्फका सडक निर्माण योजनाका प्रतिनिधि, जिल्ला स्थित सरोकारवालाको बैठकले शनिवार दाउन्ने खण्डको अवलोकन पछि यात्रा सहज बनाउन यातायात रोकेर काम अघि बढाउने निष्कर्ष निकालेको हो ।

दाउन्नेको पूर्वी खण्डमा अहिले कल्भर्ट निर्माणको काम चलिरहेको नारायणगढ–बुटवल सडक योजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो । दाउन्नेको पूर्वी खण्डमा पहाड कटिङको काम सकिएको उहाँको भनाई छ । पश्चिम खण्डमा डेढ किलोमिटर पहाड काट्न बाँकी रहेकाले रातिको समयमा यातायात रोकेर उक्त काम अघि बढाउने तयारी भएको सूचना अधिकारी खनालले बताउनुभयो ।गैँडाकोटदेखि बुटवलसम्म एक सय १३ किलोमिटर सडक मध्य दाउन्ने खण्डमा १४ किलोमिटर पर्दछ । दाउन्नेमा तीन लेनको सडक निर्माण गरिने छ । बजार क्षेत्रमा चारलेन सहित छ÷छ लेन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट