Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा सुदृढ गणतन्त्रका विषयमा अन्तरसम्वाद : ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

चितवनमा सुदृढ गणतन्त्रका विषयमा अन्तरसम्वाद : ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

भरतपुर : चितवनमा सुदृढ गणतन्त्र र संविधानको रक्षा विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ नेकपा एमाले चितवनको आयोजनामा शनिबार सम्पन्न अन्तरसंवादमा वक्ताहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

चितवनमा सक्रिय राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले लोकतन्त्रभित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु सलबलाउन थालेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले लोकतन्त्रमा देखिएका कमजोरीलाई टेकेर बेलाबेलामा राजतन्त्र बिउँझन खोज्नु विश्व इतिहासमै रहेको बताए । गणतन्त्रलाई सुदृढ बनाउन मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिँदै नेता थपलियाले अब राजनैतिक दलहरुले राजनैतिक स्थायित्व खोज्नुपर्ने बताए । राजावादीहरुले राजनैतिक दललाई पुनः एक ठाउँमा ल्याउने अवसरसमेत जुराइदिएको बताउँदै नेता थपलियाले तिमीहरु सच्चिएनौँ भने हामी आउँछौँ भनेर राजावादीले दलहरुलाई देखाउन खोजेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रिक व्यवस्था सञ्चालनमा केही कमजोरी पक्कै भएको बताउँदै उनले भने, ‘कमजोरीलाई सुधार्ने हो, व्यवस्था फेर्ने हैन ।’ नेपालका राजनीतिक दलहरुले लडेर ल्याएको व्यवस्थामाथि कसैले ढुङ्गा हान्न खोज्छ भने त्यसको सबै मिलरे सशक्त प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसक्दा राजावादीले विरोध गर्ने ठाउँ पाएको बताए । उनले भने, ‘हामी लोकतान्त्रिक गणतान्त्रिक चरित्रका भएनौँ । हामीमा राजतन्त्रको प्रभाव पर्याे ।’ राजनीतिक दलका कार्यक्रममा युवा पुस्ता नेखिनु पनि अहिले समस्या भएको उनले बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई गणतन्त्रका बारेमा शिक्षा दिन नसक्नु कमजोरी भएको बताउँदै उनले यसतर्फ ध्यान दिन जरूरी रहेको बताए ।

नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले एउटा दलले अर्काे दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन भन्ने भाष्य समाजमा गएको बताए । उनले भने, ‘जसले गर्दा राजतन्त्र कस्तो थियो भन्ने थाहा नभएका पुस्ता अहिले राजतन्त्र नै ठीक थियो कि भन्नेमा पुगेका छन् ।’ अब दलहरुले गरेको कमजोरीलाई समीक्षा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रनुपर्नेमा उनको जोड थियो । संसारकै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि सञ्चालनमा कमजोरी हुँदा जनतामा वितृष्णा आएको उनले बताए । कमजोरीलाई सुधार्दै लागि सुदृढ लोकतान्त्रिक गणतन्त्र बनाउनुपर्ने बताउँदै उनले राजा आउने कुरालाई कदापी स्वीकार गर्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाठक चितवनमा सक्रिय अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानुपर्ने बताए । कार्यक्रममा बोल्ने नागरिक समाजका वक्ताहरुले नेपालका राजनैतिक दलहरु सुध्रिन आवश्यक रहेको औँल्याए ।

राजनैतिक अस्थिरता, बेरोजगारी, जनताको जीवनस्तर उकास्न नसक्नु, संविधानले व्यवस्था गरेको कुरालाई अझै कार्यान्वयन गर्न नसक्नु जस्ता कुराले जनतामा वितृष्णा पलाएको बताउँदै वक्ताहरुले अब यसतर्फ राजनैतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनीहरुले पूर्वराजालाई पनि गणतन्त्रप्रति आकर्षित गर्नुपर्ने बताए । राजालाई पनि राजतन्त्र भन्दा त गणतन्त्र नै राम्रो रहेछ भन्ने पार्नुपर्नेमा उनीहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट