Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

शालीन आईजीपी कुँवरको बेदाग अवकाश

शालीन आईजीपी कुँवरको बेदाग अवकाश

काठमाडौं : नेपाल प्रहरीको सर्वोच्च पदमा रहँदा इमानदारी, निडरताका साथै कुशल नेतृत्वको परिचय दिएका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको कार्यकाल ऐतिहासिक रह्यो । आफ्नो २ वर्षेे नेतृत्वमा उनले प्रहरी संगठनलाई थप सुदृढ बनाउन मात्र होइन, पेशागत मर्यादा, अनुशासन र पारदर्शिताको उदाहरणीय नमूना समेत प्रस्तुत गरे ।

कुँवरले वर्षको कार्यकालमा नेपाल प्रहरी संगठनमा उल्लेखनीय सुधार र परिवर्तन गरेका छन् । संगठनको कार्यशैली सुधार गर्दै शान्ति सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न, र आन्तरिक कमिकमजोरी हटाउन उनले प्रभावकारी भूमिका खेलेका छन् । प्रहरीलाई प्रविधिमैत्री बनाउन, पारदर्शिता कायम राख्न, तथा राजनीतिक दबाबलाई न्यून गर्दै प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने काममा उनी सफल देखिन्छन् । इमानदार, दृढ आत्मविश्वासी, र नतिजामुखी शैलीका कारण उनले संगठनभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रहरीको छवि मजबुत बनाएका छन् ।

प्रहरी सेवाको यात्रा

विसं २०२६ चैत १५ गते अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा जन्मिएका कुँवरको बाल्यकाल सामान्य परिवेशमा बित्यो । उनका पिता भीमबहादुर कुँवर र माता नमकला कुँवरको सन्तानका रूपमा जन्मिएका वसन्त कुँवरका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख समेत भइसकेका छन् ।

२०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा प्रहरी सेवामा प्रवेश गरेका कुँवरको यात्रा निरन्तर प्रगतिको दिशामा अघि बढ्यो । २०६३ भदौ ८ गते प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक (एसपी) मा, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदै उनी २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बने । यसरी उनी उच्च पदसम्मको यात्रा तय गर्दै २०७९ चैत ६ गते नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्त भए ।

प्रहरी सेवामा बहादुरी

माओवादी द्वन्द्व उत्कर्षमा रहेको २०५६ सालतिर, कुँवर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख थिए । त्यसबेला माओवादी प्रभाव क्षेत्रमा रहेर उनले प्रहरी नेतृत्व सम्हालेका थिए । एकदिन गस्तीका क्रममा उनको टोलीको माओवादी लडाकूसँग जम्काभेट भयो । थोरै मानिस भएकाले गोली चलाउनुभन्दो समात्नुलाई उनले प्राथमिकता दिंदै लखेट्न थाले । तर, लडाकूहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूमाथि ग्रिनेड आक्रमण भयो । केही अगाडि माओवादीको एम्बुस पनि थियो । कुँवर केही सेकेण्डले मात्रै बाँचे, तर त्यो भिडन्तमा सुरक्षागार्ड मनोज हमाल गम्भीर घाइते भए र उपचारका क्रममा उनको निधन भयो ।यस्ता कठिन परिस्थितिहरूमा पनि कुँवर कहिल्यै विचलित भएनन् । उनले आफ्नो कर्तव्य पालनामा दृढता देखाउँदै शान्ति सुरक्षाको दायित्व सफलतापूर्वक निर्वाह गरे ।

विवादरहित कार्यकाल

आईजीपी कुँवरको कार्यशैली निष्पक्ष र व्यावसायिक रह्यो । शक्तिकेन्द्रको प्रभाव अस्वीकार गर्दै उनले प्रहरी संगठनलाई मर्यादित बनाउने दिशामा काम गरे । सरुवा तथा बढुवाका निर्णयहरू मापदण्ड अनुसार मात्रै भए । विशेषगरि डिएसपी र इन्स्पेक्टर बढुवामा मापदण्ड मिच्न नदिएका उनले नियमअनुसार सरुवा बढुवा गरि निष्पक्ष नेतृत्व प्रदान गरे । कुँवरले कुनै राजनीतिक दबाब स्वीकार नगरी योग्यताका आधारमा मात्रै निर्णय गरे ।

यस्तै प्रहरी संगठनभित्र स्वच्छता कायम राख्न उनले प्रभावकारी नीति अवलम्बन गरे भने प्रहरीले जनतासँगको सम्बन्ध सुदृढ बनाउने अभियान उनको नेतृत्वमा सञ्चालन भयो । जसले नागरिक र प्रहरीबीचको विश्वास बढाउने काय भएको छ । त्यसैगरी अनुसन्धान विधिहरूलाई प्रविधिमैत्री बनाउँदै नेपाल प्रहरीलाई डिजिटल प्रविधिसँग सुसज्जित गर्नसमेत कुँवर पछि परेनन् । उनले प्रविधिमा आधारित अनुसन्धान विधिहरू पनि लागू गरे ।

उनको कार्यकालमा विभिन्न जिल्लामा नयाँ प्रहरी भवनहरू निर्माण भएकाले भौतिक पूर्वाधार पनि सुधार भएको छ । इण्टरपोल तथा अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग नेपाल प्रहरीको सहकार्य बढाएकाले आईजीपी कुँवरले अन्तर्राष्ट्रिय सम्बन्ध पनि मजबुत बनाएको बताइन्छ ।

आईजीपी कुँवर आफ्नो निष्पक्ष, व्यावसायिक र इमानदार छविका लागि परिचित छन् । उनका दाजु बाबुराम कुँवर राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार रहेका छन्, तर उनले आफ्नो कार्यकालमा कुनै शक्तिकेन्द्रको प्रभाव नस्वीकारेको प्रमाणित गरेका छन् । यसअघिका आईजीपीहरुले सेवाअवधि बढाउन विभिन्न शक्तिकेन्द्र धाएको नजिरलाई चुनौति दिएर उनले सेवाअवधि बढाउन कुनै प्रक्रिया थालेनन् । आफ्नो वर्षे कार्यकालको अन्त्यमा सेवाअवधि बढाउन आफ्नो तथा पारिवारिक शक्तिको दुरुपयोग नगर्ने भनेर भविष्यमा उनको नाम आउने बताइन्छ ।

नेपाल प्रहरीको सेवामा रहँदा कुँवरले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा प्रशिक्षण प्राप्त गरे । उनले संयुक्त राष्ट्र संघीय मिसन (सुडान, लाइबेरिया), मानव अधिकार, अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा प्रशिक्षक प्रशिक्षण तालिम लिएका छन् ।उनलाई हालसम्म सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक लगायतले सम्मानित गरिसकिएको छ ।

आईजीपी वसन्त कुँवर नेपाल प्रहरीको इमानदार, निडर र कुशल नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई आधुनिक, पारदर्शी र जनउत्तरदायी बनाउने उल्लेखनीय योगदान दिए । जसका कारण चैत ४ गते अवकाशपश्चात् पनि उनको नेतृत्व, इमानदारिता, र संगठन सुधारका पहलहरू नेपाल प्रहरीका लागि मार्गदर्शक बन्नेछन् । उनको योगदान सधैँ प्रेरणादायक रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij