Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

सुदूरपश्चिममा संसदीय समिति सभापति चयनका लागी निर्वाचन हुँदै

सुदूरपश्चिममा संसदीय समिति सभापति चयनका लागी निर्वाचन हुँदै

धनगढीः सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।यो बीचमा दुईपटकसम्म स्थगीत भएको प्रक्रिया शनिबारदेखि भने अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शनिबार बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए। उनकाअनुसार आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ भने त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।

रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि सचिवालयले यसअघि दुई पटक निर्वाचन तालिका सार्वजनिक गरेको थियो, तर दुवै पटक स्थगित गरिएको थियो। अहिले सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिमा सभापति छैनन् भने विशेषाधिकार समिति पनि रिक्त छ। सुदूरपश्चिममा ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो। भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एउटा/एउटा समितिको सभापति लिनेछन्।

उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij