Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दियो : गगन थापा

पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दियो : गगन थापा

काठमाडौं :  नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकारलाई पक्राउ गर्ने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘जनदबाबपछि रिहाइभन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार’ भन्दै थापाले पत्रकारमाथि हुने गैरकानुनी पक्राउ, अनावश्यक धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

कांग्रेसले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको टिप्पणी गरेको छ। विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको स्मरण गराउँदै पार्टीले त्यस्ता प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ।

आफ्नो स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनका पक्षमा सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै कांग्रेसले निरंकुश तथा स्वेच्छाचारी कदमविरुद्ध निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको अवस्थामा त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्ने बताएको छ।

ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सिधै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मान्यताविपरीत भएको कांग्रेसको ठहर छ। यस्तो प्रवृत्तिले ‘रुल अफ ल’ अर्थात् कानुनको शासनको सट्टा ‘रुल बाई ल’ अर्थात् कानुनलाई शासनको औजार बनाउने प्रवृत्तिलाई प्रोत्साहन गर्ने भन्दै पार्टीले घटनाको भर्त्सना गरेको छ।

सभापति थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij