काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको निन्दा गरेका छन्।
उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
घिसिङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराएका छन्। उनले यी अधिकार कुनै सरकारको इच्छा वा निगाहमा निर्भर रहने विषय नभई संविधान प्रदत्त नागरिकका आधारभूत अधिकार भएको बताएका छन्।
झन्डै दुई तिहाइ जनमतको समर्थन प्राप्त निर्वाचित सरकारले संविधानको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको संवर्द्धन र नागरिक अधिकारको सुनिश्चितता गर्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहभित्र प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य आपत्तिजनक रहेको उनको भनाइ छ।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु, सत्यतथ्य उजागर गर्नु र जनतालाई सुसूचित गर्नु पत्रकारिताको धर्म भएको उल्लेख गर्दै घिसिङले आलोचनालाई शत्रु ठान्ने र असहमतिका आवाज दबाउने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
उनले लोकतन्त्रको वास्तविक शक्ति सरकारको बहुमतमा मात्र नभई नागरिक स्वतन्त्रता, विधिको शासन र जबाफदेहितामा निहित हुने उल्लेख गरेका छन्। बहुमतले शासन गर्ने अधिकार दिए पनि नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट नदिने उनको भनाइ छ।
घिसिङले प्रेस स्वतन्त्रतामाथि हुने सबै प्रकारका हस्तक्षेप, धरपकड र दमन तत्काल बन्द गर्न, पक्राउ परेका पत्रकारहरूको कानुनी अवस्था सार्वजनिक गर्न तथा उनीहरूको संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
त्यसैगरी स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारको कलम रोक्दैमा सत्य नरोकिने र प्रश्न दबाउँदैमा सरकार जबाफदेहिताबाट उम्किन नसक्ने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij