भरतपुर : चितवन जिल्ला पशुमा लाग्ने रोग खोरेतमुक्त नहुँदा यहाँ उत्पादित दूधका परिकार विदेश निर्यातमा समस्या भएको छ । चितवनका निजी तथा सहकारीहरुले उत्पादन गरेका दूधका परिकारहरु (पनिर, चीज, घिउ, नौनी, छुर्पी) विदेश निर्यात हुन थालेका छन्, तर कयौँ देशहरुले खोरेतमुक्त नभएका क्षेत्रमा उत्पादित दूधका परिकारहरु आयात गर्दैनन् ।
‘युरोपका देशहरुले खोरेतमुक्त नभएका क्षेत्रबाट दूधका परिकारहरु आयात गर्दैनन्, त्यस्ता देशहरुमा चितवनबाट उत्पादित दूधका परिकारहरु निर्यात गर्न सकिएको छैन’, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने, ‘चितवनको छुर्पी, चीजलगायतका दुग्धजन्य परिकारहरु अमेरिका त गइरहेको छ, तर युरोपका देशहरुमा जान सकेको छैन । खोरेतमुक्त जिल्ला घोषणा गर्न सकियो भने बाहिर निर्यातमा सहज हुनेथियो ।’
खोरेत एक प्रकारको पशुहरुलाई लाग्ने सरूवा रोग हो । यो रोग लागेमा पशुहरुको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत भनिएको हो । यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैँसी, बाख्रामा देखिन्छ । यो रोग लागेमा पशुहरुका खुर पाक्नुका साथै ज्वरो आउने, घाँस नखानेजस्ता लक्षणहरु पनि देखा पर्छन् । कयौँ देशहरुले खोरेतमुक्त नभएका देशबाट दूधका परिकारहरु आयात गर्दैनन् ।
भरतपुर–५ मा निजी तवरमा सञ्चालन भएको भवानी डेरीले यतिबेला अमेरिकालगायतका देशहरुमा छुर्पी पठाइरहेको छ, तर युरोपका देशहरुमा पठाउन सकेको छैन । आइएसओ प्राप्त यस डेरीका सञ्चालक सुभाष पौडेलले भने, ‘चितवन जिल्लालाई मात्र खोरेतमुक्त बनाउन सकेमा यहाँको उत्पादित दूधका परिकारहरु युरोपका देश तथा जापानमा समेत निर्यात गर्न सकिन्थ्यो ।’
उनका अनुसार सामग्रीमा गुणस्तर पुगेको छ, तर राज्यले गर्नुपर्ने काममा अग्रसरता नदेखाउँदा निर्यातमा समस्या भइरहेको छ । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार मिलेर पालिकाहरुलाई खोरेतमुक्त बनाउने अभियान सुरू गर्नुपर्ने बेला आइसकेको पौडेलले बताए ।
उनले भने, ‘अहिले हाम्रो छुर्पी अमेरिका गइरहेको छ तर युरोप तथा जापानमा पठाउन सकिएको छैन, किनभने हाम्रो क्षेत्र खोरेतमुक्त हुन सकेको छैन ।’ उनले देशलाई नै नसके पनि चितवन जिल्ला भए पनि खोरेत रोगबाट सङ्क्रमणमुक्त जिल्ला घोषणा गर्ने अभियान स्थानीय सरकारले सुरू गर्नुपर्ने बताए ।
चितवनका कुनै पनि स्थानीय सरकारले जिल्लालाई खोरेत रोगको सङ्क्रमणमुक्त बनाउने योजना अघि सारेका छैनन् । यहाँका केही वडाहरुले भने खोरेत रोगबाट सङ्क्रमणमुक्त पार्नलाई खोप अभियान चलाएका थिए ।
बागमती दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद कँडेलले बागमती प्रदेश सरकारले प्रदेशभर नै खोरेत रोगको सङ्क्रमण रोक्नलाई पशुसेवा कार्यालयमार्फत खोप अभियान चलाएको बताए ।
उनले भने, ‘खोरेत रोगको सङ्क्रमण देखिनासाथ त्यो क्षेत्रलाई सिल गरेर खोप लगाइरहेका छौँ, खोरेत रोगको सङ्क्रमणबाट मुक्त गर्न अभियान नै चलाउने गरी योजना बनाइरहेका छौँ ।’ उनका अनुसार सकेसम्म अभियान बागमती प्रदेशभरि नै चलाएर प्रदेशलाई नै खोरेतको सङ्क्रमणबाट मुक्त गर्ने योजना छ ।
उनले भने, ‘तत्काल पूरा जिल्लालाई खोरेतको सङ्क्रमणमुक्त बनाउन नसके पनि कुनै क्षेत्र वा पालिकालाई खोरेतमुक्त बनाउने आयोजना आगामी वर्षबाट अघि बढ्छ ।’ उनले चितवनको माडीलाई खोरेतमुक्त बनाउन सकिने बताए ।
बोर्डका अध्यक्ष कँडेलले भने, ‘माडी प्रवेशमा जम्मा दुईवटा नाका छन्, दुईवटा नाकामा खोरेतको सङ्क्रमण हुन नदिन चेकपोस्ट राख्ने र त्यहाँ खोप अभियान व्यापकरुपमा चलाउने योजना बनाएका छौँ । यति गर्न सकियो भने माडीलाई मात्र भए पनि खोरेतमुक्त पालिका घोषणा गरी त्यहाँका दूधका परिकारहरु विदेश निर्यात गर्ने योजना बागमती दुग्ध विकास बोर्डले बनाएको छ ।’
उनका अनुसार चाइनामा भैँसीको मासु निर्यात गर्ने योजना सरकारको छ, त्यसका लागि पनि खोरेतमुक्त हुनुपर्छ । त्यसैले सरकारले प्लट, क्षेत्र र केही पालिकालाई खोरेतमुक्त बनाउनैपर्छ, आगामी वर्षको बजेटमा यो अभियानका लागि बजेट, योजना सबै बन्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij