वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने काम सुरु गरेका छन्। ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई जागिर छोड्ने विकल्प प्रस्ताव गरेको छ। यसका लागि एक हप्ता अर्थात् फेब्रुअरी ६ सम्मको समय दिइएको छ।
जागिर छोडेबापत कर्मचारीहरूलाई ८ महिनाको अतिरिक्त तलब दिइनेछ। सरकारी जागिरका लागि भर्ना गर्ने कार्मिक विभागले भविष्यमा कर्मचारी कटौती गर्ने चेतावनी पनि दिएको छ। लाखौं कर्मचारीहरूलाई पठाइएको इमेलमा उनीहरुले फेब्रुअरी ६ सम्ममा राजीनामा दिए लगभग आठ महिनाको तलब पाउने जनाइएको छ। अमेरिकामा ३० लाखभन्दा बढी संघीय कर्मचारी रहेको जनाइएको छ।
वर्कफ्रम होम गर्नेलाई कार्यलय बोलाइयो
कार्मिक विभागले पठाएको इमेलमा घरबाट काम गर्ने कर्मचारीहरूलाई कार्यालय फर्कन भनिएको छ। यी कर्मचारीहरूले हप्ताको ५ दिन कार्यालयबाट काम गर्नुपर्ने अनिवार्य रहेको जनाइएको छ। ट्रम्पले गत हप्ता संघीय कर्मचारीहरूलाई कार्यालय गएर काम गर्नुपर्ने नत्र जागिर नरहने बताएका थिए।
अमेरिकी सरकारी कर्मचारी संघका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। केलीले यो आदेश मार्फत ट्रम्प प्रशासनप्रति वफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिइएको जनाएकी छन्। उनले ट्रम्प प्रशासनले श्रम विरोधी आदेश र नीतिहरू जारी गरेको आरोप लगाइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij